images
images

भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन


  • 118
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा यही  भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

    बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ रहेका छन् । यसबाहेक विभिन्न स्थानबाट ३५९ मानव अंग समेत फेला परेका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब दुई हजार १३० जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् ।

    बेपत्ताको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबाट हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले चार हजार १५७, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७० जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ ।

    यस्तै, हालसम्म ९६  शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनुभयो ।

    विभिन्न अस्पतालमा ३१४ जना, नेपाली सेनाबाट तीन हजार २६६ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ८३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । बाढी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७  होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका जनाइएको छ ।

    भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै

    रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ भएको जानकारी दिए । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ ।

    उपचार भएकामध्ये दुई जनाको आईसियु र दुईजनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताए । यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।


    images
    images

    Logo