images
images

भोटेकोशी बाढी : १३ हजार ३९६ जनाको उद्धार, ५ हजार ३२६ अझै सम्पर्कविहीन


  • 88
    SHARES
  • २०८३ भाद्र २४ गते बुधबार

    भोटेकोशी बाढी : १३ हजार ३९६ जनाको उद्धार, ५ हजार ३२६ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिनसम्म आइपुग्दा खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    उद्धार गरिएकामध्ये तीन हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन् ।

    बाढीका कारण हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको छ । तीमध्ये ९८ वटा शव सनाखतपछि सम्बन्धित आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

    यस्तै, अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाका दुई हजार ८६० जना र नुवाकोटका एक हजार ९८१ जना रहेका छन् ।

    बाँकी सम्पर्कविहीन हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकायका कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण र पुनःस्थापनाका कामलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

    लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    यसैबीच, भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।

    आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९ जना सम्पर्कविहीन छन् ।

    त्यस्तै पाल्पा, प्युठान र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का समान नौ–नौ जना, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ तथा रुकुमपूर्वका चार जना अझै सम्पर्कमा नआएको केन्द्रले जनाएको छ ।

    बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा १५८ वटा शव फेला परेका छन् । तीमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका रहेका छन् भने चार जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।

    त्यहाँ ६४ वटा शरीरका अङ्गसमेत फेला परेका छन् । शव र शरीरका अङ्ग गरी फेला परेको कुल सङ्ख्या २२२ पुगेको केन्द्रले जनाएको छ ।

    फेला परेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटाको व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ ।

    बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी, फेला परेका शव तथा शरीरका अङ्गको पहिचान र व्यवस्थापनको काम निरन्तर जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।


    images
    images

    Logo