images
images

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन


  • 63
    SHARES
  • २०८३ भाद्र २४ गते बुधबार

    भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३६७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट उक्त सङ्ख्यामा मानवीय क्षतिको विवरण प्राप्त भएको हो ।

    प्राधिकरणका अनुसार बाढीपछि सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६३ जनाको शव भेटिएको छ भने नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।

    यस्तै, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० तथा तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको छ ।

    हालसम्म फेला परेका शवमध्ये १०२ जनाको मात्रै सनाखत गरी परिवारलाई बुझाइएको छ । बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो तथा नाता प्रमाणित कागजातसहित आवश्यक नमुना उपलब्ध गराउन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रबाट अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। तीमध्ये रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् ।

    रसुवाबाट सम्पर्कविहीन हुनेमा जिल्लाकै १ हजार ३९३ जना, अन्य जिल्लाका १ हजार २८६ जना, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना रहेका छन्। यस्तै ७३ जना सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत २६ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    नुवाकोटमा १ हजार ७८७ जना अझै सम्पर्कविहीन छन् । तीमध्ये नुवाकोटका ६५१ जना र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना रहेका छन् । साथै, करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले सनाखत भएका शवको सङ्ख्या सम्पर्कविहीनको विवरणबाट घटाएर अद्यावधिक तथ्याङ्क सार्वजनिक गरिएको जनाएको छ ।

    यसबीच, विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। खोज, उद्धार तथा राहत अभियानमा सुरक्षा निकायका २१ हजार १८५ जना जनशक्ति परिचालन गरिएको छ ।

    उद्धार कार्यमा नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन् ।

    विस्थापित तथा प्रभावित नागरिकलाई विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा राखिएको छ । ती केन्द्रमा हाल ३ हजार ६२८ जना रहेका छन् । रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ ।

    बाढीका घाइतेमध्ये विभिन्न १० अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । तीमध्ये २५२ जना उपचारपछि घर फर्किसकेका छन् ।

    यस्तै, नेपाली सेनाले ३ हजार ५३५ जना र सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा उपलब्ध गराएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo