images
images

वागमती प्रदेशमा व्यापार मौलायो, अर्थतन्त्रमा सबैभन्दा बढी योगदान


  • 799
    SHARES
  • २०७८ जेठ १ गते शनिबार

    वागमती प्रदेशमा व्यापार मौलायो, अर्थतन्त्रमा सबैभन्दा बढी योगदान

    काठमाडौं । वागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार व्यवसायमा मौलाएको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रदेश स्तरीय राष्ट्रिय लेखामानले वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार व्यवसायको योगदान सबैभन्दा बढी रहेको देखाएको हो । वागमती बाहेक अन्य ६ प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको रहेको छ । 

    तथ्यांकले वागमती प्रदशेमा व्यापार व्यवसाय अन्य भन्दा बढी भएको देखाएको विभागका निर्देशक ईश्वरी प्रसाद भण्डारीले बताए । ‘अन्य प्रदेशमा कृषिको योगदान बढी भएपनि वागमतीमा भने थोक तथा खुद्रा व्यापारको योगदान बढी देखिएको छ ।’ यसको अर्थ यहाँ व्यापार व्यवसाय बढी हुने गरेको छ भन्ने हो,’ उनले थपे । 

    वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको योगदान २४ प्रतिशत रहेको छ ।  यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन १६ खर्ब ८ अर्बमा थोक तथा खुद्रा व्यापारको योगदान ३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

    यो प्रदेशमा कृषिको योगदान ११.८ प्रतिशत अर्थात १ खर्ब ६२ अर्ब रुपैयाँमात्रै रहेको छ । उत्पादनमूलक उद्योगको योगदान ५ प्रतिशत अर्थात ६८ अर्ब २७ करोड रुपैयाँमात्रै रहेको छ । वागमती प्रदेशमा खानेपानी क्षेत्रको योगदान सबैभन्दा कम रहेको छ । 

    कुल गार्हस्थ्य उत्पादनमा प्रदेश १ मा कृषि क्षेत्रको योगदान ३५.२ प्रतिशत रहेको छ भने प्रदेश २ मा कृषि क्षेत्रको योगदान ३८.३ प्रतिशत रहेको छ । प्रदेश १ र २ मा प्रशासनिक सहयोगी सेवाको योगदान कम रहेको छ । 

    गण्डकी प्रदेशमा पनि कृषि क्षेत्रको योगदान बढी र प्रशासनिक क्षेत्रको योगदान कम रहेको छ । गण्डकी प्रदेशमा कृषि क्षेत्रको योगदान २८.२ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश र कर्णाली मा कृषि क्षेत्रको योगादन ३३ र प्रशासनिक सहयोगी क्षेत्रको योगदान ०.२ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनको योगदान साढे ३५ प्रतिशत रहेको छ । 

    अर्थतन्त्रमा बागमतीको योगदान १६ खर्ब ८ अर्ब, कर्णाली पुच्छारमा

    चालु आर्थिक वर्षमा अन्त्यसम्म नेपालको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुने देखाएको छ । विभागले प्रकाशित गरेको प्रदेशगत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर्णाली प्रदेशको योगदान राष्ट्रिय उत्पादनमा सबैभन्दा कम देखिएको छ ।

    राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान १६ खर्ब ८ अर्ब पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो । कुल गार्हस्थ्य उत्पादनमा उक्त प्रदेश योगदान ३७.७ प्रतिशत पुगेको  छ । गत आवमा बागमती प्रदेशको योगदान ३७.२ प्रतिशत अर्थात १४ खर्ब ५५ अर्ब थियो । 

    वागमती प्रदेशपछि राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रदेश १ को योगदान दोस्रो स्थानमा रहेको छ । प्रदेशले कुल ४२ खर्ब ६६ अर्बको अर्थतन्त्रमा ६ खर्ब ६४ अर्ब योगदान रहेको छ । 

    त्यसरी नै अर्थतन्त्रमा प्रदेश २ को योगदान पनि पौने ६ खर्ब रहेको छ । गएको आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा यो प्रदेशको योगदान ५ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेशको योगदान ५ खर्ब ९६ अर्ब रहेको छ । 
    गण्डकी प्रदेशको योगदान ३ खर्ब ७२ अर्ब, सुदूरपश्चिमको योगदान २ खर्ब ९४ अर्ब रहेको छ भने कर्णाली प्रदेशको कुल राष्ट्रिय उत्पादनका योगदान १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । 
     


    images

    Logo