काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आज एसिसी प्रिमियर कपको तेस्रो संस्करणको उपाधिका लागि मैदानमा उत्रँदै छ । मलेसियामा जारी प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ ।
आजको खेलमा युएईलाई पराजित गर्न सके नेपाल लगातार दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ । नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कपको च्याम्पियन बनेको थियो ।
पहिलो संस्करणको उपाधि जित्ने क्रममा नेपालले फाइनलमा युएईलाई नै ७ विकेटले पराजित गरेको थियो । त्यसैले नेपाली टोली आज तीन वर्षअघिको इतिहास दोहोर्याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको प्रिमियर कपको ट्रफी उचाल्ने लक्ष्यमा छ ।
यता, युएईले पनि जारी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ । उसले समूह चरणका चारवटै खेलमा जित निकालेको थियो । सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै युएईले फाइनलमा स्थान बनाएको हो ।
सन् २०२४ को टी–२० संस्करणमा ओमानलाई हराउँदै च्याम्पियन बनेको युएई आज पनि आफ्नो लयलाई निरन्तरता दिँदै उपाधि जित्ने योजनामा छ ।
नेपालले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ । समूह चरणमा हङकङबाहेक अन्य तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले सेमिफाइनलमा ओमानमाथि ८७ रनको फराकिलो जित हात पारेको थियो । उक्त खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई ६० रनमै अलआउट गरेका थिए ।
नेपाल आज युएईविरुद्ध पनि बलिङ र ब्याटिङ दुवैमा सोही लय कायम राख्दै उपाधिसँगै दोस्रो पटक एसिया कपमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच हालसम्म १९ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ११ खेल जित्दा युएईले ८ खेलमा सफलता हात पारेको छ ।
युएईविरुद्ध खेलिएका पछिल्ला पाँच एकदिवसीय खेलमध्ये नेपालले तीन खेलमा जित निकालेको छ । गत मे महिनामा भएको आइसिसी विश्वकप लिग–२ शृङ्खलाको खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको थियो । त्यसअघि भएको अर्को खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो ।
यसकारण फाइनलमा नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रँदैछ । आजको खेलमा जित हात पार्न सके नेपालले एसिसी प्रिमियर कपको उपाधि मात्र होइन, एकदिवसीय प्रारूपमा लगातार दोस्रो पटक उपाधि जित्ने नयाँ इतिहाससमेत बनाउनेछ ।



