काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान पक्का गरेको हो ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो । यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन जोडे ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार पारेको थियो ।
यही योगफल यूएईका लागि चुनौतीपूर्ण लक्ष्य साबित भयो । उपाधिसँगै नेपालले एसिया कपमा सहभागिताको टिकटसमेत सुरक्षित गरेको छ ।



