बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्डमा सडक स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर तीन जना मजदुर पुरिएका थिए ।
घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।
पुरिएका अर्का मजदुर रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए ।
झिवाखोलाबाट बोहरागाउँ जाने भित्री सडक स्तरोन्नति गर्ने क्रममा चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए ।



