images
images

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा


  • 132
    SHARES
  • २०८३ कार्तिक ९ गते सोमबार

    दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

    खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई निःशुल्क मोटर बाइक सेवा दिएका छन् । 

    सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर चार दिन ९कात्तिक ३ गतेदेखि ६ गतेसम्म०सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले निःशुल्क मोटर बाइक सेवा दिएका हुन् । 

    अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले निःशुल्क मोटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिएका छन् ।

    “तेस्रो संस्करणका रूपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रूपमा खटिनुभएको थियो”, उनले भने, “माइती तथा मावली घर जाने आउनेक्रममा निःशुल्क मोटर बाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवा भावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।”

    तिहारमा माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म निस्शुल्क मोटर बाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् । 

    जिल्लाका युवा समूहले दिक्तेलबजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने छोरीचेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्ममा निःशुल्क मोटर बाइक सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

    यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, यातायात भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्था भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै निःशुल्क मोटर बाइक सेवा दिन अभियान सञ्चालन गरिएको हो ।

    अभियानका दौरानमा कुदाइने सवारीसाधन (मोटर बाइक)का लागि सहयोग जुटाएर इन्धनको प्रबन्ध मिलाउने गरिएको संयोजक राईले जानकारी दिए । विशुद्ध सामाजिक सेवाअन्तर्गत विसं २०८१ मा ३४५ जना र विसं २०८२ मा ७५० जना चेलीलाई निःशुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।

    नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गतका निस्शुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ । 

    जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर यात्रुका लागि तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिए। निस्शुल्क यातायात सेवा अभियानमा स्वस्स्फूर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो–कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । 

    स्वयंसेवक बन्न चाहने युवाको सवारीसाधनको ब्लुबुक र सवारी चालकको चालक अनुमतिपत्र ९लाइसेन्स० अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । शुभेक्षुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ । 


    images
    images

    Logo