काठमाडौं । १७ वाणिज्य बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण प्रकाशन गरेका २२ बेंकमध्ये ती बैंकको नाफा बढेको हो ।
त्यसरी नाफा बढ्ने बैंकमध्ये ८ बैंकको वृद्धिदर एकल अंकमा छ । ८ बैंकको वृद्धिदर दोहोरो अंकमा हुँदा सिभिल बैंकको नाफा वृद्धि तेहेो अंकमा रहेको छ ।
सिभिल बैंकको नाफा सर्वाधिक १ सय ४८ प्रतिशतले बढेर ५० करोड पुगेको छ ।
सिद्धार्थ बैंकको नाफा वृद्धि पनि ७१ प्रतिशत भन्दा बढी छ । यो बैंकले ६ महिनामा १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो ।
सेञ्चुरी बैंकको नाफा यसपटक ५४ प्रतिशत भन्दा धेरैले बढेको छ । सो बैंकले यो अवधिमा ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।
उता स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा यो अवधिमा ४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनसीसी कमर्शियल बैंकको नाफा ४६ प्रतिशतले बढेर ९० करोड पुग्दा सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ नाघेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशत भन्दा धेरैले बढेर १ अर्ब १ करोड पुग्दा एनआईशी एशिया बैंकको नाफा १६ प्रतिशतले बढेर २ अर्ब ४० करोड पुगेको छ । ग्लोबल आईएमई पनि १५ प्रतिशत नाफा बढाएर २ अर्ब ६६ करोडसहित सर्वाधिक नाफा कमाउने बैंक बनेको छ ।
एकल अंकमा नाफा बढाउने बैंकहरुमा भने राष्ट्रिय वाणिज्य, नबिल, कृषि विकास, मेगा, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू र सानिमा बैंक रहेका छन् ।


