काठमाडौं । नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा बैंकले सो बराबरको नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।
सो बैंकले यो अवधिमा १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा बैंकले खुद ब्याज आम्दानीमा सामान्य वृद्धि गरेको छ । बैंकले यो अवधिमा ३ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ९७ करोड रुपैयाँ थियो । शुल्क तथा कमिसन आम्दानी भने बैंकको ३५ करोडबाट बढेर ४८ करोड पुगेको छ ।
बैंकले यस पटक इम्पेरिमेन्ट चार्जबापत ३८ करोड छुट्याएको छ । अघिल्लो वर्ष यस्तो यो शीर्षकबाट रकम फिर्ता आएको थियो । यो पछि फिर्ता आउने पैसा हो । यो शीर्षकमा धेरै रकम छुट्याउँदा समेत बैंकको खुद नाफा बढेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात २.८८ प्रतिशतबाट घटेर १.९१ प्रतिशतमा झरेको छ ।


