काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवातका कारण केही स्थानमा भारी वर्षा हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुनसक्ने मौसमविद्को पूर्वानुमान छ ।
पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद शान्ति कँडेलले बताइन् ।
नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।
नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।
चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ ।
त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।


