काठमाडौं । कर्मचारी सञ्चय कोषले शेयर, डिबेञ्चर लगायत धितोपत्रमा गरिने लगानी बढाएको छ । कोषले प्रकाशन गरेको पुस मसान्तको विवरण अनुसार एक वर्षमा धितोपत्रमा गरिने लगानी ६ अर्ब रुपैयाँले बढेर ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही समयमा यस्तो लगानी २८ अर्ब ७६ रुपैयाँ मात्रै थियो ।
गत वर्षको पुस महिनासम्म कोषले २८ अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानी गरेको थियो अहिले ५ अर्ब ३६ करोड रुपैयाँ थप लगानी गरि कोषले आर्थिक वर्षको पुस महिनासम्म धितोपत्रमा गरेको लगानी ३४ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, यो वर्ष सञ्चयकर्तालाई दिएको कर्जा तथा सापटी पनि बढेको छ । गत वर्ष यस्तो रकम १ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा यो वर्ष २ खर्ब ९ अर्ब रुपैयाँमा पुगेको छ । यो गत वर्षको तुलनामा १३ अर्ब रुपैयाँले बढी हो ।
विवरण अनुसार कर्मचारी सञ्चय कोषको जगेडा तथा बचत पनि ४ अर्ब २९ करोड रुपैयाँले बढेको छ । यो गत वर्ष ३५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । उक्त रकम यो वर्षको पुससम्मा ४ अर्ब २९ करोड रुपैयाँले बढेर ४० अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।


