काठमाडौं । इन्धनको मूल्यसँगै हवाइ भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानका विभिन्न गन्तव्यको नयाँ भाडा तोकेको हो । नयाँ भाडादर अनुसार न्यूनतम भाडा ९० रुपैयाँदेखि अधिकतम ५ सय ४० रुपैयाँसम्म भाडा बढाइएको छ ।
सबैभन्दा सस्तो भाडा रहेको काठमाडौंदेखि सिमरासम्मको भाडा ११३५ रुपैयाँ रहेकोमा ९० रुपैयाँले बढाएर १२३५ रुपैयाँ पुर्याइएको छ । त्यस्तै, सबैभन्दा महँगो भाडादर भएको विराटनगरदेखि नेपालगञ्जको भाडा ५ सय ४० रुपैयाँले बढाएर ७३०५ रुपैयाँ पुर्याइएको छ ।
संघले न्यूनतम भाडादर निर्धारण गरे पनि त्यसको प्रत्यक्ष असर भने भाडादरमा खासै पर्दैन । अहिले पनि विमान कम्पनीहरुले न्यूनतम भन्दा धेरै नै भाडादर लिँदै आएका छन् । यस्तो भाडादर यात्रुको चाप अनुसार उडानैपिच्छे फरक हुने गरेको छ ।
नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य एकैपटक २० रुपैयाँले बढाएर १ सय ३६ रुपैयाँ पुर्याएपछि संघले भाडादर बढाएको हो । यसअघि निगमले हवाइ इन्धमा धेरै फाइदा राखेको भन्दै संघले उडान नै बन्द गर्ने धम्की समेत दिँदै आएको थियो ।


