images
images

स्वास्थ्य बीमामा भुक्तानी समस्या : नेपाल-कोरिया मैत्री अस्पतालको दृष्टान्त


  • 994
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    स्वास्थ्य बीमामा भुक्तानी समस्या : नेपाल-कोरिया मैत्री अस्पतालको दृष्टान्त

    काठमाडौं । करिब ६ महिना सेवा बन्दपछि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमासँग सम्बन्धित उपचार सेवा सुरु गर्न लागेको छ । स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नदिँदा रोकिएको स्वास्थ्य बीमा सेवा अधिकांश रकम भुक्तानी भएपछि सुचारु गर्न लागिएको हो । 

    अस्पतालको सञ्चालक समितिका अध्यक्ष समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले ९ करोड बक्यौतामध्ये ७ करोड ३० लाख भुक्तानी भइसकको र बाँकी रकम पनि भुक्तनी हुने क्रम बढेपछि सेवा सञ्चालनको तयारी थालिएको जानकारी दिए ।

    पछिल्लो भुक्तानीपछि अस्पतालले केही समय अघिदेखि नै सेवा सञ्चालन गर्न चाहेको थियो । तर, स्वास्थ्य बीमा बोर्डको सिस्टमले काम नगरेपछि यो रोकिएको हो । अब चैत १ गतेदेखि सेवा सञ्चालन गर्न लागिएको मेयर श्रेष्ठको भनाइ छ । 

    '३ महिनासम्म सिस्टम नचलाएपछि यसले काम गर्न छोड्दो रहेछ, अब स्वास्थ्य बीमा बोर्डले सिस्टम खुला गरेपछि मात्रै सेवा सञ्चालन हुने अवस्था छ', मेयर श्रेष्ठ भन्छन्, 'हामीले फागुन ३ गते नै सेवा सञ्चालन गर्ने निर्णय गरेर पत्र पठाएका छौं, उताबाट तयारी हुनेबित्तिकै सेवा सुरु हुन्छ ।'

    ६ महिनामा पाएको दुःख

    स्वास्थ्य बीमाको सेवा सुचारु हुँदैगर्दा नेपाल कोरिया मैत्री नगर अस्पतालमा आउने बिरामीमध्ये झण्डै ८० प्रतिशत हिस्सा स्वास्थ्य बीमा अन्तर्गतका उपचारको हुन्थ्यो । त्यतिबेला दैनिक ८ देखि ९ सयसम्म बिरामी उपचारका लागि आउँथे । महिनाको झन्डै १० करोड रुपैयाँको उपचार सो अस्पतालले मात्रै गथ्र्यो । 

    तर, सेवा रोकिएपछि एकातिर अस्पतालमा बिरामीको संख्या घटेको छ भने अर्कोतिर अस्पतालको नजिक रहेका बिरामीहरु भक्तपुर अस्पतालसम्म धाउने बाध्यता आइलागेको छ । अहिले सो अस्पतालमा दैनिक डेढदेखि २ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

    मेयर श्रेष्ठ अस्पताल र नगरवासी दुवैको दृष्टिकोणबाट स्वास्थ्य बीमा सेवा सुचारु गर्दा नै फाइदा हुने भए पनि भुक्तानी नै नपाएपछि आफूहरु सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । हाम्रो अस्ततालको लागि मासिक १० करोडको उपचार भनेको ठूलो नै हो । अहिलेसम्म निरन्तर रुपमा उपचार गरिरहेको भए बक्यौता झण्डै ७० करोड पुग्ने रहेछ, त्यो हामीले धान्नसक्ने नै थिएनौं । 

    Health-insurance.jpeg

    किन ढिला भयो भुक्तानी ? 

    अहिले भुक्तानीमा ढिलाइ हुनुको मुख्य कारण अस्पतालबाट भएको दाबीलाई रुजु गर्ने कर्मचारीको अभाव रहेको मेयर श्रेष्ठ बताउँछन् । भक्तपुरमा पहिलोपटक स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दा र अहिले ७७ वटै जिल्लामा बीमा सेवा पुग्दा समेत बोर्डमा कर्मचारी संख्या आवश्यकता अनुसार नबढ्नाले समस्या रहेको उनको भनाइ छ । 

    'भक्तपुर जिल्ला सबैभन्दा पहिले स्वास्थ्य बीमा लागु गर्ने जिल्ला हो । त्यतिबेला बोर्डमा जति प्राविधिक कर्मचारी हुनुहुन्थ्यो', मेयर श्रेष्ठ भन्छन्, 'अहिले कर्मचारी दोब्बर मात्रै छ, जबकी स्वास्थ्य बीमाको सेवा अहिले ७७ वटै जिल्लामा लागु भइसकेको छ ।' 

    त्यसो त भुक्तानीको समस्या यो अस्पतालको मात्रै हैन, देशका सबै अस्पतालहरुमा यस्तै समस्या देखिएको छ । केही दिनअघि मात्रै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत भुक्तानी नदिए सेवा बन्द गर्ने भन्दै बोर्डलाई एक महिने अल्टिमेटम दिएको थियो । 

    समस्यालाई सुल्झाउने अवसर

    त्यसो त, स्वास्थ्य बीमा सेवा बन्द भएपछि योबीचमा अस्पतालले अनावश्यक रुपमा रहेका कर्मचारीहरु कटौती गरेर सेवालाई प्रभावकारी बनाउने विषयमा काम गर्यो । योबीचमा आधार भन्दा बढी कर्मचारी कटौती गरिएको छ । 

    अहिले दैनिक ५ सय जनासम्मको सेवा दिनसक्नेगरी कर्मचारी संयन्त्र तयार गरिएको छ । यसो हुँदा अस्पताल आफ्नै आम्दानीबाट नियमित खर्च धान्नसक्ने अवस्थामा पुगेको छ । मेयर श्रेष्ठ पहिले ओभरस्टाफिङ भएका कारणले पनि अस्पताललाई समस्या भएको बताउँछन् ।

    'पहिले हामीले दैनिक १ हजारलाई सेवा दिने संयन्त्र बनाएका थियौं, यो स्वास्थ्य बीमाकै लागि केन्द्रित गरिएको थियो । तर, अहिले  यसलाई ५ सयमा झारेका छौं । यसो हुँदा स्वास्थ्य बीमा बन्द नै भए पनि कर्मचारीलाई तलब खुवाउन र सञ्चालन खर्च धान्न गाह्रो हुँदैन ।'

    अब समस्या दोहोरिँदैन त ? 

    अहिले सेवा सञ्चालन गर्न लागिए पनि अब फेरि सोही प्रकृतिको समस्या नदोहोरिने ग्यारेन्टी भने छैन । अहिले पनि स्वास्थ्य बीमा सेवा दिएका अस्पतालहरुले बोर्डबाट भुक्तानी नपाएको अवस्था छ । मेयर श्रेष्ठ भुक्तानीको ग्यारेन्टी नभए पनि सेवा सुरु गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । यद्यपि पछिल्लो समय बोर्डले कर्मचारी थप्दै गएका कारणले समस्या समाधान हुँदैजाने विश्वास गर्न सकिने उनको भनाइ छ । 

    'मध्यपुर थिमिमा मात्रै हजारौंले स्वास्थ्य बीमा गराउनुभएको छ । नगर अस्पताल भएको आधारमा उहाँहरुलाई सेवा दिनु हाम्रो कर्तव्य पनि हुन्छ', श्रेष्ठ भन्छन्, 'अर्कोतिर हाम्रो अस्पतालको सञ्चालनकै लागि पनि यो आवश्यक छ । चल्नसक्ने अवस्था भएसम्म हामी चलाउँछौं, भुक्तानी भएन र खर्च गर्ने पैसा सकियो भने फेरि बन्द गर्नुपर्ने अवस्था हुनसक्छ ।'

    Health-insurance.jpeg

    स्वास्थ्य बीमामा देखिएको विकृति

    त्यसो त पछिल्लो समय स्वास्थ्य बीमालाई विकृत रुपमा प्रयोग गर्ने प्रचलन समेत बढेको छ । बिरामीले बीमा सुविधाको प्रयोग गर्न बिरामी नै नभइ उपचार गर्ने प्रवृत्ति पनि देखिएको छ । 

    अहिले ३ हजार ५ सय रुपैयाँमा ५ जना परिवारको ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा हुन्छ । जब यसको समय सकिन लाग्छ, बिमितिहरु बिरामी नै नभइ स्वास्थ्य परीक्षण गर्न आउँछन् । यसले गर्दा बोर्डले अनावश्यक रुपमा खर्च व्यहोर्नु परिरहेको छ । 

    यसका लागि स्वास्थ्य परीक्षणपूर्व समेत डाक्टरको सिफारिस अनिवार्य गर्नुपर्ने सुझाव मेयर श्रेष्ठको छ । उनी भनछन्, हाम्रो क्षेत्रमा बैशाख जेठमा स्वास्थ्य परीक्षणको चाप निकै बढी हुन्छ । डाक्टरको सिपाmरिसपछि मात्रै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भयो भने यस्तो चाप कम हुनसक्छ, अनावश्यक रुपमा स्वास्थ्य सेवा लिने प्रवृत्तिको समेत अन्त्य हुन्छ । 


    images

    Logo