काठकाडौं । बैंक तथा वित्तीय संस्थाले चैत महिनामा ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघका सदस्यहरु ब्याजदर बढाउन अनिच्छुक देखिएका कारण यो महिना ब्याजदर नबढ्ने भएको हो । यद्यपि यसबारे आधिकारिक निर्णय भने भएको छैन ।
एक बैंकरका अनुसार ब्याजदर बढाउँदा पनि निक्षेप नथपिने भएकोले ब्याजदर बढाउन सबै सदस्य अनिच्छुक भएका हुन् । ‘अघिल्लो महिना राष्ट्र बैंकले नै ब्याजदर बढाउनुपर्यो भनेकोले बढाइएको हो, नत्र बढ्ने थिएन, यसपटक यस्तो दबाब छैन, त्यसैले ब्याजदर नबढ्न सक्छ’ उनले भने ।
व्याजदर नबढ्ने देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव बिहीबारको शेयर बजारमा परेको थियो । सो दिन शेयर बजार ५२ अंकले बढेको थियो । ब्याजदर नबढ्दा यसले बजारलाई स्थिर राख्न मद्दत गर्ने विश्लेषकहरु बताउँछन् ।
बैंकको ब्याजदर नबढ्दा यसले शेयर बजारबाट लगानी झिकेर बैंकमा राख्ने प्रवृत्तिको अन्त्य हुन्छ । यसले बजारलाई बढाउन नदिए पनि अनावश्यक रुपमा घटाउने ‘फ्याक्टर’को रुपमा काम गर्दैन ।


