काठमाडौं । चीनबाट ल्याइएका सिलिन्डरमध्ये २७० थान अक्सिजन सिलिन्डर बुधबार राती सुदूरपश्चिमका लागि छुट्यो । धनगढीका लागि हिजो हिँडेको सो अक्सिजन सिलिन्डर बोकेको ट्रक अहिले विराटनगर पुगेको छ ।
अक्सिजनको अभावमा सो सिलिन्डरलाई विराटनगर पुर्याउनुपरेको हो । चीनबाट ल्याइएका सबै सिलिन्डर खाली हुन् । त्यसलाई रिफिल गरेर मात्रै सम्बन्धित अस्पतालमा पुर्याउन सकिन्छ । तर, अक्सिजन भरिदिने उद्योग नपाएपछि अक्सिजनको खोजीमा चहार्दा चहार्दै सो गाडी विराटनगर पुगेको हो ।
अक्सिजनको आपूर्ति गर्ने जिम्मा लिएको ह्युमेनिटिज फाउन्डेसनका महासचिव दीर्घराज उपाध्याय भन्छन्, ‘काठमाडौंबाट आएको सिलिन्डरलाई भैरहवामा रिफिल गराएर ल्याउने योजना थियो । तर, त्यहाँको उद्योगले रिफिल गर्न सक्दैनौं भन्यो, गैडाकोट र चितवनका उद्योगले पनि नसकेपछि विराटनगर पठाइएको हो, अब त्यहाँ सिलिन्डर भरेर आउँछ ।’
यसअघि पनि भैरहवाको उद्योगले १५० सिलिन्डर लगेकोमा १०० सिलिन्डर मात्रै भरेर पठाएको थियो । गैडाकोटले यसअघि नै ‘अब नआउनू’ भनेर पठाएको उपाध्याय बताउँछन् । उपाध्याया भन्छन्, ‘सूदूरपश्चिममा अक्सिजन उद्योग भनेको १५० सिलिन्डर मात्रै हो । अहिले दैनिक ७०० भन्दा बढी माग छ, त्यसैले पुर्याउन धौ धौ छ ।’
अहिले सो फाउन्डेसनले सेती प्रादेशिक अस्पताल र जिल्ला प्रशासन कार्यालयहरुको सहयोगमा सूदूरपश्चिम प्रदेश अन्तर्गतका सबै जिल्ला अस्पतालमा अक्सिजनको आपूर्ति गरिरहेको छ । तर, उद्योगले आपूर्ति गर्न नसक्दा समस्या भइरहेको उनको भनाई छ ।
यसअघि उद्योगहरुले अक्सिजन सिलिन्डरको अभाव रहेको बताउँथे । तर, अहिले अवस्था फेरिएको छ । चीन, ओमन लगायत देशबाट अक्सिजन सिलिन्डर आएको तथा लुकाइएका अक्सिजन सिलिन्डर समेत प्रहरीले छापा मारेर बाहिर निकालेपछि अहिले सिलिन्डर केही सहज भएको अस्पतालहरु बताउँछन् । तर, अक्सिजनको आपूर्ति भने अझै सहज नभएको उनीहरुको भनाई छ ।
कोभिडकै कारण सुदूरपश्चिममा मात्रै करिब २ सयको ज्यान गएको छ । ज्यान जानेमध्ये सबैजसोको कारण अक्सिजनकै अभाव नै भएको उपाध्याय बताउँछन् । यसअघि पनि मध्य र पश्चिमी क्षेत्रमा अक्सिजन अभाव भएपछि पटकपटक विराटनगर लगेर सिलिन्डर भर्ने गरेको उनको भनाइ छ ।


