काठमाडौं । फागु पूर्णिमामा हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी खटाइएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।
महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित छन् । त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ ।
प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालन गरिएकाे छ। यसैबीच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।
प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यस्तै तीनैवटा जिल्लाका पर्यटकीय क्षेत्र, ठूला सपिङमललगायतका स्थानमा सुरक्षा कडाइ गर्ने भएको छ । केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहल पहल कम भएको थियो । कोरोना संक्रमण घटेसँगै यो वर्ष होलीमा बढी भिडभाड हुने भएकोले आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने योजना बनाइएको छ ।
होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोशाकमा खटाइएको छ । त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ । प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न पनि अनुरोध गर्दै कानुनविपरीत कुनै पनि काम गरे सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने चेतावनी दिएको छ । प्रहरीले पर्यटकमाथि अभद्र व्यवहार नगर्नसमेत आग्रह गरेको छ ।


