काठमाडौं । सरकारले जेठ १५ गतेभन्दा अगाडि नै संसद विघटन गरेर अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान सरकारले विश्वासको मत लिनसक्ने अवस्था नभएको भन्दै राष्ट्रपतिसमक्ष संविधानको धारा ७५ (५) अनुसार अघि बढ्न सिफारिस गरेसँगै यस्तो अवस्था देखिएको हो ।
सरकारको सिफारिससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) साँझ ५ बजेसम्मको लागि सरकार गठनको लागि विकल्प पेश गर्न आह्वान गरेकी छन् । एक दिन भन्दा कम समय दिएर राष्ट्रपतिले आह्वान गरेको समयसभित्र अन्य राजनीतिक दलहरुले वैकल्पिक सरकारको आधार प्रस्तुत गर्नसक्ने सम्भावना छैन ।
अर्को सरकार गठनको लागि आधार प्रस्तुत गर्न नसक्ने अवस्थामा सरकारले फेरि संसद विघटनको लागि सिफारिस गर्ने र मंसिरमा नयाँ निर्वाचन घोषणा गर्ने तयारी गरिएको बुझिएको छ । अल्पमत रहेको संसदबाट बजेट पास हुने अवस्था नभएको र बजेट पास नभएको अवस्थामा सरकार अप्ठ्यारोमा पर्ने डरले नियुक्तिको एक सातामै ओलीले वैकल्पिक सरकारतर्फ अघि बढ्न सिफारिस गरेका हुन् ।
संसद विघटन भएपछि सरकारले जेठ १५ मा अध्यादेशमा बजेट ल्याउन सक्छ । आम निर्वाचन भएपछि आउने नयाँ संसदसम्म देश अध्यादेशकै भरमा चल्नुुपर्ने बाध्यता रहन्छ ।


