काठमाडौं । सञ्चालनमा रहेका सबैजसो बीमा कम्पनीलाई प्रभावित पार्नेगरी बीमा समितिले बिहीबार बीमा कम्पनीहरुको न्यूनतम पुँजीवृद्धिसम्बन्धी निर्णय गर्यो । समितिको सञ्चालक समितिको बैठकले जीवनबीमा कम्पनीको पुँजी ५ अर्ब तथा निर्जीवन बीमा कम्पनीको पुँजी २ अर्ब ५० करोड कायम गर्नुपर्ने निर्णय गरेको हो ।
समितिले त्यति मात्रै निर्णय गरेन । अहिले सञ्चालनमा रहेका कम्पनीले आगामी वर्षको चैत मसान्तसम्म पुँजी पूरा गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था समेत गर्यो । साथै, त्यस्तो पुँजी वृद्धिका लागि १ महिनाभित्र सबै बीमा कम्पनीले आफ्नो पुँजी वृद्धि योजना समितिमा पेश गरिसक्नुपर्ने निर्णय समेत गर्यो ।
अहिले नेपाली बीमा बजारमा २ पुनर्बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र १९ जीवनबीमा कम्पनी समेत गरी ४१ बीमा कम्पनी सञ्चालित छन् । त्यसमध्ये पुनर्बीमा कम्पनीका हकमा कुनै निर्णय नगरिएकोले यसले बाँकी रहेका ३९ कम्पनीलाई मात्रै प्रभाव पार्छ ।
तर, ३९ कम्पनीमध्ये १० कम्पनी भने यस्ता छन् जसलाई सो नीतिको कार्यान्वयन कसरी हुन्छ भन्नेबारे अन्यौल छ । बीमा समितिको निर्देशनले ती कम्पनीको अन्यौलतालाई सम्बोधन गर्न सकेको छैन ।
जीवन बीमा कम्पनी अन्तर्गत अहिले १९ कम्पनी सञ्चालनमा छन् । तीमध्ये १६ वटा कम्पनीहरु निजी क्षेत्रबाट सञ्चालित कम्पनी हुन् । एउटा कम्पनी (मेटलाइफ–एलिको) विदेशी कम्पनीको शाखाको रुपमा स्थापित कम्पनी हो भने राष्ट्रिय बीमा संस्थान नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनी हो ।
विदेशी कम्पनीको शाखाको रुपमा रहेको मेटलाइफ र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान दुबै कम्पनी दोस्रो बजारमा सुचीकृत छैनन् । बाँकी रहेका १६ कम्पनीमध्ये पनि ५ वटा कम्पनीको आईपीओ आएको छैन ।
उता निर्जीवन बीमा कम्पनीतर्फ रहेको बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स विदेशी कम्पनीको शाखा हो । राष्ट्रिय बीमा कम्पनी भने अधिकांश सरकारी लगानी भएको सूचीकृत कम्पनी हो ।
राष्ट्रिय बीमा संस्थान अहिले पनि आफ्नो छुट्टै ऐन अन्तर्गत सञ्चालित छ । बीमा समितिको निर्णयले छुट्टै ऐनबाट सञ्चालित संस्थानलाई प्रभाव पार्न सक्दैन । त्यसैले अहिले पनि संस्थानको पुँजी १८ करोड रुपैयाँ मात्रै छ ।
सरकारी स्वामित्वकै निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले पनि अहिलेसम्म बीमा समितिको निर्देशन मान्ने गरेको छैन । अहिले १ अर्ब न्यूनतम चुक्ता पुँजी तोकिएको अवस्थामा कम्पनीसँग २६ करोड मात्रै पुँजी छ । वर्षौंदेखि साधारणसभा हुन नसकेका कारण कम्पनीले पुँजी बढाउन सकिरहेको छैन । यस्तो अवस्थामा यसबारे निर्णय गर्न समेत बीमा समिति चुकेको छ ।
उता, विदेशी कम्पनीको शाखाको रुपमा रहेको २ निर्जीवन र १ जीवनबीमा कम्पनीबारे समेत समिति केही बोलेको छैन ।


