काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार आह्वान गरिएको प्रधानमन्त्रीको दाबेदारीमा केपी शर्मा ओली र शेरबहादुर देउवाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा दुबै पक्षले दाबेदारी प्रस्तुत गरेका हुन् ।
ओलीले आफ्नो पार्टी नेकपा एमालेका १ सय २१ जना सांसद र जनता समानवादी पार्टीको र स्वतन्त्र समेत गरी आफूसँग १ सय ५३ जनाको दाबी प्रस्तुत गरेका छन् । उता शेरबहादुर देउवाले काँग्रेस, माओवादी, एमालेका माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका संसद जुटाएर बहुमत आफूसँग रहेको दाबी गरेका छन् । देउवाले १ सय ३९ जनाको हस्ताक्षर नै जुटाएर दाबेदारी प्रस्तुत गरेका छन् ।
एमालेभित्रको समर्थन समेत देखाउन देउवाले माधव नेपाललाई समेत आफूसँगै लिएर शितल निवास गएका छन् ।
दुई पक्षले दाबेदारी प्रस्तुत गरेपछि अब निर्णयको जिम्मेवारी फेरि राष्ट्रपति विद्यादेवी भण्डारीको काँधमा पुगेको छ । ओलीप्रति बढी नै उदार रहेको आरोप खेप्दै आएकी भण्डारीले गर्ने निर्णयले अबको राजनीतिक कार्यदिशा तय गर्नेछ ।


