मध्यपुर थिमि नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगर प्रमुख (मेयर) उम्मेदवार हुन्, मदनसुन्दर श्रेष्ठ । यसअघि ५ वर्ष मेयरको कार्यभार सम्हालिसकेका श्रेष्ठलाई पार्टीले टिकट दिएपछि उम्मेदवारीका लागि बैशाख ११ गते राजीनामा दिएका थिए ।
देशभर नेकपा एमाले सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त उम्मेदवारसँग भिडिरहँदा भक्तपुरमा समेत यी अवस्था छ । अघिल्लो पटकको स्थानीय तहको चुनावमा पनि पार्टीको कमजोर उपस्थिति भएको ठाउँमा लोकप्रिय मतका आधारमा विजयी भएका श्रेष्ठले यसपटक कतिको चुनौती महशुस गरेका छन् त ? प्रस्तुत छ, मेयरका उम्मेदवार श्रेष्ठसँगको कुराकानी ।
विगत ५ वर्ष मध्यपुर थिमिको मेयरको रुपमा काम गर्नुभयो । अहिले फेरि मेयरको उम्मेदवार हुनुहुन्छ । तपाइँले दोस्रोपटक जनतासँग भोट माग्दैगर्दा पहिलो कार्यकालका कस्ता कामहरु प्रस्तुत गर्नुभएको छ ?
५ वर्षे कार्यकालको अनुभवको आधारमा भन्नुपर्दा २०७४को मध्यपुर थिमी नगरपालिका र २०७८ सालको नगरपालिकामा व्यापक परिवर्तन भइसकेको छ । यो परिवर्तन सबैले देख्न र महशुस गर्न अवस्था छ । यसअघि भ्रष्टाचारमा दोस्रो नम्बरमा रहेको यो नगरपालिका अहिले समग्र कामको मुल्यांकनको आधारमा तेस्रो उत्कृष्ठ नगरपालिका बन्न सफल भएको छ ।
सम्पदा संरक्षणमा मध्यपुर थिमि अग्रणी नगरपालिकाको रुपमा रहन सफल भयो । विगतदेखि नै काठमाडौं, भक्तपुर, ललितपुर सम्पदा शहरको रुपमा स्थापित थियो । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा स्थापित भएको छ ।
स्वास्थ्य क्षेत्रमा अरु नगरपालिकाहरु १५ बेडको अस्पताल सञ्चालन गर्न नै गाह्रो भइरहेको सन्दर्भमा मध्यपुर थिमि नगरपालिकाले रुपमा सय बेडको अस्पताल सञ्चालन गर्न सफल भयो । यो अस्पतालले कोभिडको बेलामा गरेको कार्य निकै प्रशंसनीय रह्यो । हामीले अक्सिजन प्लान्ट, एचडीयू, आईसीयू, अक्सिजन कन्सेन्ट्रेटर र पीसीआर ल्याब समेत अहिलेसम्म सञ्चालनमा ल्यायौं । यसको आधारमा स्वास्थ्य क्षेत्रमा पनि नमुना र उत्कृष्ट रहेको छ ।
यस्तै मैले फेहोर मैला व्यवस्थापनको सन्दर्भमा जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गर्यो । नगरपालिकको एउटा वडामा मात्रै भएपनि नमुनाको रुपमा काम गर्न सफल भएका छौँ । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन सकिन्छ र यो मल बिक्री समेत गर्न सकिन्छ भन्ने अहिले पुष्टि भएसकेको छ । राष्ट्रपति कार्यालयको प्राङ्गणलगायत विशिष्ट व्यक्तिहरुको घर करेसामा समेत यो मल प्रयोग भइराखेको छ ।
मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । हामीले पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गर्यौं । यस अन्तर्गत हामीले ४ वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा ल्यायौं । यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेका छौं । यसको लागि नेपालमै पहिलो पटक हामीले नगरपालिकाकाट वस्ती विकास र जग्गा एकीकरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्यायौं ।
अहिले हामी स्वास्थ्य, शिक्षा र फोहोरमैलाको क्षेत्रमा जुन रुपमा काम गरिरहेका छौं, अपाङ्गताको क्षेत्रमा पनि काम गर्न खोजिरहेका छौं । मध्यपुर थिमि नेपालको एउटैमात्र नगरपालिका हो, जसले जहाँ चाहिँ ३ तहका अपाङ्गताको विद्यालयको छुट्टाछुट्टै विद्यालयहरु स्थापना गरेर सञ्चालन गरिरहेको छ । त्यसैगरी नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ।
यो ५ वर्षमा हामीले लघु उद्यमशीलता विकास अथवा तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्यौं जसबाट हामी अलि पृथक र नमुना रह्यौ भन्ने हामीलाई लाग्छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।
पहिलो कार्यकालमा यी जे जति उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउन समय अभाव भएकोले दोस्रंो दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका हौं ।
तपाइँले चुनाव जित्ने प्रमुख आधारहरु के के हुन् ?
सम्पदाको क्षेत्रमा हामीले २५ वटा पोखरीमा १७ वटा पोखरीहरु पुनर्निर्माण गर्यौं, ८ वटा पोखरी बाँकी रहेका छन् । मन्दिरको कुरा गर्दा त्यस्तै बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउन बाँकी छ । गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकाmे यसलाई पनि पूर्णता दिन बाँकी छ ।
यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरी नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत भएको छ । त्यसलाई हामीले सदुपयोग गरेर अस्पताललाई रुपान्तरण गरेर ३ सय बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा गर्नुपर्नेछ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्ने र मेडिकल कलेज लागि तयार गर्ने काम पनि बाँकी छ ।
फोहोर मैला व्यवस्थापनका योजना केही वडामा मात्रै लागु हुन सकेको छ । यसलाई पुरै नगरपालिका भरि फैलाउने र अन्य नगरपालिकासँग समन्वय गरेर उपत्यकाभरि पनि फैलाउने योजना रहेको छ । यसले उपत्यकाको फोहोर व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्छ ।
जग्गा एकीकरण आयोजना लागु गर्ने सन्दर्भमा जुन ऐन बनाएका छौं । त्यसलाई कार्यान्वयन गरेर जानुपर्नेछ । काठमाडौं उपत्यकाको विकासको लागि स्थानीय तहहरु नै सक्षम भएकोले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक छैन भन्ने हामीले स्थापित गर्यौ । यसको व्यवहारिक खारेजी गराउने काम बाँकी नै छ
अपाङ्गताको लागि ३ तहमा सञ्चालन रहेका विद्यालयलाई एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र विद्यालय नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी छ । समग्रमा यी कामहरु गर्दै हामीले मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रह्यो ।
सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँको जीवनस्तर उकास्ने हाम्रो अभियान पनि बाँकी नै छ । हामीले जनतालाई भनेका कामहरु गरेर देखायौं । जनताले यसको अनुभुति समेत गरेका छन् ।
यीनै कामहरुले गर्दा निश्चय नै जितिन्छ भन्ने मलाई लाग्दछ । हाम्रो विगतको कार्य र मुल्यांकन नै हाम्रो जित्ने प्रमुख आधार हो ।
तपाइँसँग सत्तारुढ गठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा हुँदैछ । अर्कोतिर सत्तारुढ गठबन्धनको उम्मेदवार आफ्नै जेठान हुनुहुन्छ । यसबारे के भन्नुहुन्छ ?
केन्द्रिकृत गठबन्धन अचम्म खालको छ । देशभरिको तथ्यांक हेर्दाखेरी एक तिहाइ मात्र गठबन्धन भएको छ । संविधान जोगाउन गठबन्धन गरिएको भनेर जुन हल्ला फैलाइएको छ, यो चाहिँ मध्यपुरको सन्दर्भमा अफवाह सावित भएको छ ।
केन्द्रीय सरकारमा ५ दलीय गठबन्धन छ । यहाँ दुई दल (नेपाली काँग्रंस र माओवादी) को मात्रै गठबन्धन छ । अरुलाई चाहिँ गठबन्धनबाट घोक्र्याइएको छ । यो स्थितिमा त्यो गठबन्धनको खासै अर्थ रहँदैन । अहिले प्रचण्ड र शेरबहादुरले बनाएका अववित्र गठबन्धनको निर्णयका आधारमा जनताले मतदान गर्नुहुन्छ भन्ने मलाइ लाग्दैन ।
अहिले निर्वाचनको सन्दर्भमा जुन नाताका कुराहरु छन्, ज्वाइँ जेठानको उम्मेदवारीको सन्दर्भमा, यो कागताली (संयोग) मात्रै हो भन्ने मलाई लाग्छ । उहाँले नेपाली काँग्रेसको लागि योगदान दिनुभएको थियो, त्यसैले उहाँले त्यहाँबाट अवसर पाउनुभयो, मैले नेकपा एमालेमा योगदान गरेको थिएँ । त्यसैले मैले यहाँबाट दोस्रोपटक उम्मेदवार बन्ने मौका पाएँ । त्यसैले हामी दुईले टिकट पाउनुमा कुनै सम्बन्ध छैन, यो संयोग मात्रै हो ।
पारिवारिक पृष्ठभूमिका आधारमा भन्ने हो भने यो संयोगले हामीलाई ‘दुवै हातमा लड्डु’ भनेजस्तै भएको छ । तर, यो राजनीतिक अभियान भएको र समग्रमा मध्यपुरको भविष्यसँग जोडिएकाले जनताले यसमा विवेकपूर्ण रुपले हाम्रोलाई होइन, राम्रोलाई निर्वाचित गर्नेगरी स्वतन्त्र अभिमत जाहेर हुनेछ भन्ने मलाई लाग्छ ।


