काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ ।
चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको छ ।
भारत सरकारले यी दुई राज्यमा देखिन सक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो ।
गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो ।


