images
images

सार्वजनिक संस्थानको नाफा ४५ प्रतिशतले घट्यो, १९ संस्थान नोक्सानीमा


  • 517
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    सार्वजनिक संस्थानको नाफा ४५ प्रतिशतले घट्यो, १९ संस्थान नोक्सानीमा

    काठमाडौं । सार्वजनिक संस्थानहरुको नाफा ४५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ती संस्थानहरुले गरेको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सो बराबरले घटेको हो । 

    आर्थिक वर्ष २०७७/७८ मा सञ्चालमा रहेका संस्थानहरुले २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका छन् । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा ४८ अर्ब २९ करोड ८१ लाख रुपैयाँ थियो । 

    यसरी नाफा घट्नुमा प्रत्यक्ष व्यापारिक खर्च बढ्नु मुख्य कारण रहेको जनाइएको छ । त्यसबाहेक अन्य खर्चहरु समेत यो अवधिमा बढेको छ । यो अवधिमा व्यापारिक आम्दानी समेत बढे पनि यसले खर्चलाई धान्न नसक्दा नाफा घट्न पुगेको हो । 

    आव २०७७÷७८ मा सार्वजनिक संस्थानले ४ खर्ब २१ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा बिक्री गरेका छन् । अघिल्लो वर्ष यस्तो आम्दानी ४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । लगानी र अन्य आय समेतबाट हुने कुल आम्दानी ४ खर्ब ६० अर्बबाट बढेर ४ खर्ब ७८ अर्ब पुग्दा कच्चा पदार्थ र ढुवानीमा हुने प्रत्यक्ष व्यापारिक खर्च भने २ खर्ब ७३ अर्बबाट बढेर ३ खर्ब ३९ अर्ब पुगेको छ । यही खर्चका कारण संस्थानहरुको समग्र नाफा घट्न पुगेको हो । 

    १९ सार्वजनिक संस्थान नोक्सानीमा

    आर्थिक वर्ष २०७७/७८ को विवरण अनुसार सञ्चालनमा रहेका ४२ सार्वजनिक संस्थानमध्ये १९ संस्थानहरु नोक्सानीमा रहेका छन् भने बाँकी २३ संस्थान नाफामा सञ्चालित छन् । 

    नोक्सानमा रहेका संस्थानमा दुग्ध विकास संस्थानको १६ करोड ७१ लाख, हेटौंडा सिमेन्टको १७ करोड ४ लाख, जनकपुर चुरोट कारखाना ३४ लाख, नेपाल औषधि लिमिटेड १३ करोड ७४ लाख, उदयपुर सिमेन्ट ३० करोड ६० लाख, नेपाल ओरियन्ट एण्ड म्याग्नेसाइड प्रा. लि. १४ करोड ८४ लाख, बुटवल धागो कारखाना ३ करोड ५६ लाख, धौवादी फलाम ५ लाख, नेपाल आयल निगम ४३ करोड २ लाख, नेपाल बन निगम ९६ लाख नोक्सानीमा छन् । 

    उता नेपाल वायुसेवा निगम ३ अर्ब ६६ करोड, नेपाल उत्पादकत्व तथा आर्थिक विकास लिमिटेड २ करोड ८५ लाख, नेपाल पूर्वाधार निर्माण कम्पनी ५४ करोड, नेपाल रेल्वे कम्पनी १ करोड ६५ लाख, सांस्कृतिक संस्थान २ करोड ४१ लाख, गोर्खापत्र संस्थान ८ करोड ६ लाख, नेपाल टेलिभिजन १९ करोड ९ लाख र नेपाल खानेपानी संस्थान ३६ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् । 

    २४ वटा संस्थान नाफामा 

    यो वर्ष नाफामा गएका कम्पनीहरुमा जडिबुटी उत्पादन कम्पनी १ करोड ९१ लाख, कृषि सामाग्री कम्पनी १२ करोड २४ लाख, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ५ लाख, नेपाल पारबहन तथा गोदाम व्यवस्थापन लिमिटेड ७ करोड ६७ लाख, नेपाल नागरिक उड्डयन प्राधिकरण ७३ करोड ४१ लाख, साझा यातायात १४ करोड ३७ लाख, विशाल बजार कम्पनी १२ करोड ८९ लाख, जनक शिक्षा ७ करोड २२ लाख, राष्ट्रिय आवास कम्पनी ३० लाख, नेपाल विद्युत् प्राधिकरण ६ अर्ब ९ करोड ९४ लाख, नेपाल दूरसञ्चार कम्पनी ७ अबए १२ करोड ९४ लाख, विद्युत् उत्पादन कम्पनी ७ करोड ५५ लाख र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी ११ करोड ८२ लाख रुपैयाँ छन् । 

    वित्तीय क्षेत्रतर्फ रहेका सार्वजनिक संस्थान भने सबै नाफामा छन् । त्यसमध्ये कृषि विकास बैंक ३ अर्ब ५२ करोड ७५ लाख, राष्ट्रिय बीमा संस्थान ५ करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनी २६ करोड ३ लाख, राष्ट्रिक्ष् वाणिज्य बैंक ३ अर्ब ४२ करोड ३६ लाख, निक्षेप तथा कर्जा सुरक्षण कोष २ अर्ब १५ करोड ९ लाख, नेपाल स्टक एक्सचेञ्ज १ अर्ब ९४ करोड ६ लाख, नागरिक लगानी कोष २ अर्ब २५ करोड २ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ७९ करोड ९७ लाख र नेपाल बैंक लिमिटेड २ अर्ब ९६ करोड १२ लाख रुपैयाँ नाफामा रहेका छन् । 


    images

    Logo