काठमाडौं । चितवनको कुरिनटारमा अत्याधुनिक सुविधासम्पन्न नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । इलाइट हस्पिटालिटीको व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँको लगानीमा पृथ्वी राजमार्गसँगै जोडिएको २ बिगाहा क्षेत्रफलमा ‘कुरिनटार रिट्रिट’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । अन्तिम चरणको तयारीपछि असोज १ गतेदेखि रेष्टुरेन्टको औपचारिक सेवा सुरु गर्न लागिएको छ ।
राजमार्गमा यात्रुले भोग्दै आएका सबै प्रकारका समस्याहरु समाधान गर्ने लक्ष्य आफूहरुको रहेको कम्पनीका सञ्चालक सुधाकर शर्मा बताउँछन् । गुणस्तरीय खाना, सुविधायुक्त शौचालय र पार्किङ अहिले राजमार्गका यात्रुको मुख्य समस्या रहेको भन्दै रेष्टुरेन्टले यी सबै समस्यालाई समाधान गर्न रेष्टुरेन्ट सक्षम रहेको उनको भनाइ छ ।
रेष्टुरेन्टले सुरुमा पर्यटक तथा निजी सवारी साधनका यात्रुलाई केन्द्रित गर्नेछ । यसका लागि एसी रेष्टुरेन्ट र आउटडोर रेष्टुरेन्ट समेत गरी झण्डै २ सय जनालाई एकैपटक सेवा दिनसक्ने क्षमता छ । यही क्षमताका आधारमा शौचालयदेखि पार्किङसम्मको पर्याप्त व्यवस्था गरिएको छ ।
रेष्टुरेन्टले विशेष खालका यात्रुका विशेष प्रकारको समस्यालाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । खासगरी साना बच्चासहितको अभिभावक तथा छोटो तथा लामो दूरीका यात्रुले भोग्दै आएका व्यवहारिक समस्यालाई समेत सम्बोधन गर्न खोजिएको शर्मा बताउँछन् ।

‘हाइवेको यात्रा भन्नेबित्तिकै हामी गुणस्तरहीन र महँगो खाना, शौचालयको अभाव, पार्किङको समस्यालाई बुझ्छौं, समस्या अरु पनि छन्,’ शर्मा भन्छन्, ‘साना बच्चा भएका यात्रुले बच्चाहरुको व्यवस्थापन गर्न समस्या हुँदा ढुक्कसँग बसेर खाना खान नपाउने अवस्था देखिन्छ, यसलाई सम्बोधन गर्न हामीले किड्स जोनको नयाँ अवधारणा समेत ल्याएका छौं । बच्चाहरुलाई भुलाउन खेल सामाग्री र खेलौनाहरुको पर्याप्त व्यवस्था गरिएको छ ।’
यात्रुहरुको सुविधाको लागि रेष्टुरेन्टमै अत्याधुनिक बाथरुमको समेत प्रबन्ध गरिएको छ । यसले भारतीय पर्यटक तथा नेपालकै लामो दूरीका यात्रुहरुको समस्या समाधान गर्ने विश्वास रहेको शर्मा बताउँछन् । इलेक्ट्रिक सवारी साधनको बढ्दो प्रयोग बढ्दै गएको अवस्थामा रेष्टुरेन्टमा चार्जिङ स्टेशन समेतको प्रबन्ध गरिने उनको भनाइ छ ।
रेष्टुरेन्टकै बाहिरपट्टि रिट्रिटले ६ वटा टेक–अवे स्टल निर्माण गरेको छ । यसमध्ये केही स्टल आफैंले र केही भाडामा दिएर सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तो स्टलमार्फत् खाना प्याकिङ गरेर लैजान मिल्ने भएकोले यो लामो दूरीका यात्रु एवं रेष्टुरेन्टमा बसेर खाने समय नभएका यात्रुलाई समेत उपयुक्त हुनसक्ने विश्वास गरिएको छ ।

ब्याङ्क्विटको सफलतापछि दोेस्रो लगानी
यो रेष्टेुरेन्ट सो समूहको दोस्रो ‘हस्पिटालिटी परियोजना’ हो । झण्डै ४ वर्षअघि ललितपुरको कुपण्डोलमा यही इलाइट हस्पिटालिटी समूहको लगानीमा म्याक्सिम व्याङ्क्विट सञ्चालनमा आएको थियो । विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यवसायीको उक्त परियोजना सफल भएपछि दोस्रो परियोजनास्वरुप रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।
यद्यपि रेष्टुरेन्टमा केही नयाँ लगानीकर्ता समेत छन् । यो क्षेत्रमा लगानी तथा योगदान गर्न चाहने समान उद्देश्य युवाहरुलाई संगठित गर्दै लगानी विस्तार गर्दै जाने आफूहरुको लक्ष्य रहेको भन्दै सोही अनुसार नयाँ सदस्यहरु थप गरिएको शर्मा बताउँछन् ।

निकट भविष्यमै रिसोर्ट बनाउने तयारी
अहिले रेष्टुरेन्टको रुपमा मात्रै सञ्चालनमा ल्याउन लागिए पनि यसलाई निकट भविष्यमै रिसोर्टको रुपमा विकास गर्ने सो कम्पनीको लक्ष्य छ । यसका लागि करिब १० करोड थप लगानी कम्पनीको तयारी छ ।
सो क्षेत्रमा आवासीय भवन, स्वीमिङ पुल लगायतको संरचना निर्माण गर्ने तयारी अघि बढाइसकिएको छ । निर्माण सम्पन्न भइसकेपछि उक्त रिट्रिट ‘वान नाइट स्टे’का लागि आकर्षक गन्तव्य दाबी सो रिट्रिटको छ ।

यसले राजमार्गका यात्रु मात्रै नभएर मनकामना दर्शन गर्न आउने दर्शनार्थी, ¥याफ्टिङ, ट्रेकिङ लगायत साहसिक पर्यटनमा रमाउन चाहने पर्यटकहरुका लागि समेत उपयुक्त प्याकेजसहितको व्यवस्था गर्ने लक्ष्य आफूहरुको रहेको शर्मा बताउँछन् ।
यो रेष्टुरेन्टमार्फत् अहिले ३० जनालाई रोजगारीको प्रबन्ध गरिएकोमा रिसोर्ट सञ्चालनमा आउँदासम्म ५० भन्दा बढीले रोजगारी दिने लक्ष्य समेत राखिएको उनी बताउँछन् ।


