images
images

दुई विकास बैंकले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 490
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    दुई विकास बैंकले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेका छन् । मुक्तिनाथ पुस २८ गते र गरिमाले पुस २९ गते वार्षिक साधारणसभा डाकेका हुन् । 

    मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ प्रतिशत नगद लाभांश रहेको छ ।

    सभाले बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धकपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । सभाले सञ्चाल समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन गर्नेछ ।

    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

    यसैगरी गरिमा विकास बैंकको सत्रौँ वार्षिक साधारणसभा पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ ।

    सभाले उक्त आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ । सभाले बैंकको चुक्तापुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सबै गतिविधि अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

    गरिमाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo