काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले १६ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले माघ २६ गते दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट बस्नेगरि सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यो आर्थिक वर्षका लागि भने कम्पनीले शेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभाले कम्पनीको आधारभूत शेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग आबद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्तावउपर छलफल गरी अनुमोदन गर्नेछ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन पनि सभामा हुनेछ ।
सभाले कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको हाल कायम रहेको चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)को जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।


