काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो ।
विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।
प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक बन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिना मिटर प्राधिकरणको स्वीकृति नलिई अनाधिकृत रुपमा सडक बत्तीको प्रयोग गर्ने स्थानीय तह र कार्यलयको विद्युत लाइन काट्ने चेतावनी दिएको छ।
प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ । गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन समेत दिएको थियो ।



