काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र बनेको छ । यूएस न्युजले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका शक्तिशाली राष्ट्रहरुको वरियता अनुसार अमेरिका संसारकै सबैभन्दा शक्तिशाली मुलुकको अग्रसूचीमा रहेको हो ।
ग्लोबल मार्केटिङ कम्युनिकेसन कम्पनी डब्ल्यूपीपीको एक इकाइका रुपमा रहेको यूएस न्यूजको यो वरियता मोडेल बीएभी समूहले तयार पारेको हो । साथै, पेन्सिल्भेनिया विश्वविद्यालयको ह्वार्टन स्कुलका प्रोफेसर डेभिड रेबस्टिनको नेतृत्वमा रहेका अन्वेषकहरुले यूएस न्युज एन्ड वर्ल्ड रिपोर्टसँगको सहकार्यमा यसलाई तयार गरेका हुन् ।
शक्तिशाली मुलुकको वरियता तयार गर्न पाँच आधार तय गरिएको छ । जसमा लिडर (विश्वको अगुवाइ), आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र बलियो सैन्यशक्ति छन् ।
वरियतामा मार्च महिनाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा अर्थतन्त्र र जनसंख्यालाई विशेष उल्लेख गरिएको छ । २७.९७ ट्रिलियन डलरको अर्थतन्त्रका साथ यो सूचीमा अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाको जनसंख्या ३३९.९ मिलियन छ । दोस्रो स्थानमा चीनको अर्थतन्त्र १८.५६ ट्रिलियन डलर छ। चीनको जनसंख्या १.४२ बिलियन छ ।
रुस १.९० ट्रिलियन डलर अर्थतन्त्र र १४४ मिलियन जनसंख्याका साथ तेस्रो, जर्मनी ४.७० ट्रिलियन डलर अर्थतन्त्र र ८३.२ मिलियन जनसंख्याका साथ चौथो स्थानमा र ३.५९ ट्रिलियन डलर अर्थतन्त्र र ६७.७ मिलियन जनसंख्याका साथ बेलायत पाँचौँ स्थानमा छ ।
यो सूचीमा दक्षिण कोरिया छैटौँ नम्बरमा छ । दक्षिण कोरियाको अर्थतन्त्र १.७८ ट्रिलियन डलर र जनसंख्या ५१.७ मिलियन छ । ३.१८ ट्रिलियनको अर्थतन्त्र र ६४.७ मिलियन जनसंख्या भएको फ्रान्स सातौँ, ४.२९ ट्रिलियन डलरको अर्थतन्त्र र १२३.२ मिलियन जनसंख्या भएको जापान आठौँ, १.११ ट्रिलियन डलरको अर्थतन्त्र र ३६.९ मिलियन जनसंख्या भएको साउदी अरब नवौँ स्थानमा छ । दसौँ स्थानमा यूएई रहेको छ । यूएईको अर्थव्यवस्था ५३६.८३ बिलियन डलर र जनसंख्या ९.५१ मिलियन रहेको छ ।



