गोपीकृष्ण न्यौपाने यस्तो वेलामा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त भएका थिए, जतिवेला उद्योग दुई बर्षदेखि नेतृत्व विहीन थियो । उद्योग बन्द जस्तै अवस्थावाट गुज्रिदैथ्यो । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका उनीसँग उद्योग उकास्ने ‘रोडम्याप’ चाहिँ थियो नै ।
महाप्रबन्धक न्यौपाने उदयपुर सिमेन्ट उद्योगको विकासकालागि दत्तचित्त भएर लागिपरेका छन् । परिणामत कार्यकालको ९ महिनामा नै उद्योगलाई तङ्ग्राउन उनी सफल हुँदै गएका छन् । उनका प्रसंसकहरु देखिन थालेका छन् ।
गैडा छाप सिमेन्टको ब्रान्ड बनाएको उदयपुर सिमेन्टको विगत जति गौरवपूर्ण थियो, वर्तमान त्यति संतोषजनक छैन । अनि भविश्य ? सायद यसको जवाफ महाप्रबन्धक न्यौपानेसँग मात्रै छ । प्रस्तुत छ, यिनै विविध विषयमा उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेसँग नेपालअर्थ डटकमका प्रतिनिधिले गरेको कुराकानीको सम्पादीत अंश –
तपाईं उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्त हुनुभएको ९ महिना पुरा भएको छ । प्रगति विवरण सुनाउने बेला भएन ?
– सवैलाई थाहा छ, म महाप्रबन्धक भएर जाँदा उद्योग दुई बर्षदेखि नेतृत्व विहीन थियो । लामो समय नेतृत्व विहीन संस्था कस्तो हुन्छ, कल्पना गर्नुहोस् । उद्योग बन्द जस्तो अवस्थामा थियो । उद्योगमा कोइला समेत थिएन । उत्पादन रोकिएको थियो ।
उदयपुर सिमेन्ट उद्योग व्यवस्थित थिएन भन्न खोज्नु भएको हो ?
– निश्चय नै ब्यवस्थित थिएन । अचम्मको कुरा इन्टरनल अडिट हुँदो रहेनछ । अर्को कुरा २०६३–०६४ देखि साधारण सभा समेत नभएको अवस्था । अहिलेसम्म कम्पनी रजिष्टारमा एउटा पनि अभिलेख दर्ता गरिएको रहेनछ । यी काम सम्पन्न गरियो । ठूलो जरिवाना लाग्थ्यो, हालको अर्थमन्त्रीले ५ प्रतिसत मात्र तिर्दा हुने बनाइदिएर राहात दिनु भएको छ । धेरै किसिमका बिक्रिती स्थापित थिए, उद्योगमा ।
तपाईंको प्राथमिकता चाहिँ केमा हो ?
– म गएपछि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेँ । विभिन्न संस्था हाँकेको लामो अनुभवलाई राष्ट्र सेवामा लगाउनु पर्छ भन्ने सोचले म सक्रिय भएँ । सोही अनुसार परिणाम देखिन थाल्यो । केही महिनामा नै हामीले उत्पादनको रेकर्ड कायम गरेऊँ । ‘अफ सिजन’ मानिने साउन–भदौमा अरुवेला उद्योग बन्द हुन्थ्यो । यस बर्ष साउनमा १ लाख ८० बोरा र भदौमा २ लाख ४० बोरा उत्पादन गर्यौं । यस उद्योगको मुल कुरा नै उत्पादनसँग सम्बन्धित छ । सँगसँगै मूल्य कम गर्दै जाने पनि योजना हो ।
वितरण ब्यवस्थामा समस्या छैन ?
गैडा छाप सिमेन्ट आफैंमा ठूलो ब्रान्ड हो । यसको उत्पादन नियमित नभएकाले मान्छेले यसको उत्पादन छ र ? भन्ने अवस्था सृजना भएको थियो । उत्पादन भएपनि हामीले पाउँछौं र ? भन्ने पनि छ । यसकालागि नियमित उत्पादन र ठूलो परिणाममा उत्पादन गर्न सकेको खण्डमा सवैखाले समस्या आफैं हल भएर जान्छन् ।
हामीले अहिले प्रदेश १ र २ लाई प्राथमिकतामा राखेका छौं । एउटा उदाहरण, हाम्रो उत्पादन काठमाडौं छिरेको प्रमाणित भएपछि बोराको ३० रुपैयाँ फिर्ता गर्ने नीति बनाएका छौं ।

जे जति कुरा गरेपनि थोत्रो उद्योगले भनेजति उत्पादन गर्न सक्ला र ?
सही हो । जापान सरकारले निर्माण गरेर दिएको पनि तीन दशक पुरा भइसकेको छ । यस अर्थ यसले भनेजति उत्पादन दिन सक्दैन । अपग्रेड गर्ने, उद्योग थप्ने लगायतका कुरा त छँदैछन् । तर यसै हालतमा पनि हामीले नियमित चलाउन सकेको खण्डमा निराश हुनुपर्ने अवस्था रहँदैन । अव हामीले सिजनमा २४ लाख बोरा उत्पादन गर्ने लक्ष्य लिएका छौं । २४ लाख बोरा भनेको यस उद्योगको क्षमताको ४७ प्रतिसत मात्रै हो । तर, यही ४७ प्रतिसत उत्पादनले पनि हामीलाई १६ करोड फाइदा हुन्छ ।
गैडा छाप सिमेन्टको विशेषता चाहिँ के हो ? अरुभन्दा के कुरामा फरक छ ?
– राम्रो प्रश्न । हाम्रो सिमेन्ट स्तरको हिसावमा असाध्यै राम्रो छ । यसमा हुनुपर्ने तत्वले यो पूर्ण छ । राम्रो सिमेन्ट छिटो सेटिङ हुन्छ । छिटो सेटिङ हुनाले यसले धेरै पानी खोज्छ । राम्रोसँग पानी पुर्याउन सकेको खण्डमा यो असाध्यै दर्हो हुन्छ । कमसेकम १५ दिन पानी लगाउनु पर्छ नै । पानी नपुर्याउँदा रेशाहरु देखिने हुन्छ । यसमा मान्छेमा केही भ्रम पनि छ ।
अर्को कुरा ५३ ग्रेडको सिमेन्ट हाम्रो मात्र हो । अरु सिमेन्ट ८ बोरा लाग्ने ठाउँमा हाम्रो सिमेन्ट ६ बोराले पुग्छ ।
उदयपुर सिमेन्टको उल्लेख्य विशेषता पनि छन् कि ?
– उदयपुर सिमेन्टको आफ्नै खानी हो । यो एउटै चट्टान हो । एक सय ९ मिटर गहिरो, ५ बर्ग मिटरमा फैलिएको । दुई प्रतिसतभन्दा कम एमजीओ भएको । यस्तो राम्रो चुनढुंगा भएको खण्डमा जापानमा सिसा बनाइन्छ रे ।
हाम्रो खानीको पूर्ण क्यापसिटी ७ करोड ३५ लाख मेट्रिक टन उत्पादन हो । अहिलेसम्म हामीले १० प्रतिसत मात्रै चलाएका छौं । यही हिसावमा खानी चलाएर सक्न ४ सय बर्षभन्दा बढी समय लाग्छ ।
उदयपुर सिमेन्ट उद्योग उकास्ने तपाईंका भावी योजना बताईदिनुस् न,
– २४ बर्ष प्राइभेट सेक्टरमा जिएम भएर काम गरेको, १० बर्षसम्म ठूला इन्डष्ट्रिमा काम गरेको, बाणिज्य बैंकमा १० बर्ष डाइरेक्टर भएर बसेको, सक्रिय अडिटर र लयर पनि हुँ । यी तमाम अनुभवका आधारमा मैले यसको नेतृत्व गरेर राष्ट्र सेवा गर्ने संकल्प गरेको हुँ ।
प्रदेश १ मेरो जन्मस्थल पनि हो । मैले १ नं प्रदेशका १४ जिल्लाको प्राकृतिक स्रोत माथि अध्ययन गरेको छु । यी सवै अनुभवका आधारमा भन्नुपर्दा पहिलो नम्बर यस उद्योगलाई ‘सस्टेन्ट’गर्ने नै मेरो पहिलो प्रयास हुने छ । दोस्रो र दीर्घकालीन काम भनेको ६ हजार टनको अर्को उद्योग थप्ने नै हो । यसरी अर्को उद्योग थप्दा पनि हामीलाई त्यही खानीले ३० बर्ष पुग्छ । यहीवीचमा अर्को खानी खोज्ने हो । नेपालमा खानीको अभाव छैन ।
अर्को कुरा हामी ओपिसी सिमेन्टमा सीमित छौं । पीपीसी सिमेन्ट उत्पादन गर्नु छ । ह्वाइट सिमेन्ट कसैले पनि उत्पादन गरेको छैन । हामी त्यो गर्न सक्छौं । मुलकुरा उत्पादन बढाउने र मूल्य कम गर्ने नीति लिनु पर्छ । गुणस्तरीय सामाग्री प्रयोग गर्नुको मतलव राष्ट्र बलियो बनाउनु पनि हो ।



