चितवन । राष्ट्रिय प्राथमिकताप्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको नेपाल आयल निगमले जनाएको छ।
राप्ती नगरपालिका-१ लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको पेट्रोलियम भण्डारण डिपो निर्माण हुँदैछ। अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १०.७५ इन्चको पाइपलाइन निर्माण गरिनेछ।
निगमका अनुसार पाइपलाइन पूर्वपश्चिम राजमार्गको समानान्तर हुँदै जानेछ। हेटौँडा बजारमा भने पाइपलाइन नपस्ने गरी डिजाइन तयार गरिएको छ। रातोमाटे आसपास नदी क्षेत्र हुँदै जाने पाइपलाइन हेटौँडा बजार पार गरेपछि राप्ती पुल नजिकबाट पुनः बाहिर निस्कनेछ।
आयोजना प्रमुख प्रदीपकुमार यादवका अनुसार परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन लोथरसम्म ल्याउन सकिनेछ।
लोथरमा बन्नेछ ठूलो इन्धन भण्डारण केन्द्र
लोथरमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि ठूला क्षमताका ट्याङ्की निर्माण हुनेछन्। नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ।
पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीन, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई तथा हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन ट्याङ्की निर्माण गरिनेछ।
परियोजनाको निर्माणस्थलमा अहिले जमिन सम्याउने, माटो भर्ने र बाहिरी पर्खाल लगाउने काम भइरहेको छ। यी कामका लागि मोतीदान कन्स्ट्रक्सनले करिब ७९ करोड रुपैयाँमा ठेक्का पाएको छ। एक वर्षको ठेक्का अवधि भए पनि आठ-नौ महिनामै काम सक्ने गरी निर्माण अघि बढाइएको छ।
हवाई इन्धन पनि पाइपलाइनबाटै
परियोजनाको अर्को महत्वपूर्ण पक्ष हवाई इन्धनको आपूर्ति हो। लोथरमा भण्डारण ट्याङ्की बनेपछि भारतको बरौनीबाट ट्याङ्करमार्फत हुँदै आएको हवाई इन्धनको ढुवानी पाइपलाइनबाटै गर्न सकिनेछ।
निगमका अनुसार अहिले करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ढुवानी हुँदै आएको छ। लोथरसम्म पाइपलाइनबाट ल्याउन थालेपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुने र वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च जोगिने अनुमान छ।
पाइपलाइनबाट इन्धन ढुवानी गर्दा ढुवानीका क्रममा हुने जोखिम, चोरी तथा मिसावटको सम्भावना घट्नुका साथै वातावरणीय प्रभाव पनि कम हुने निगमको भनाइ छ।
पाइपलाइन र भण्डारण गृहसहित परियोजनाको अनुमानित लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ।
अमलेखगन्ज-लोथर परियोजना भारतको मोतिहारी-अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको विस्तार हो। मोतिहारीदेखि अमलेखगन्जसम्मको पाइपलाइन २०७६ देखि सञ्चालनमा छ। त्यसबाट अहिले पेट्रोल, डिजेल र मट्टितेल आयात हुँदै आएको छ।
अमलेखगन्जबाट आउने पाइपलाइनमार्फत नेपालको करिब ७० प्रतिशत पेट्रोलियम माग धानिँदै आएको छ। लोथर परियोजना सञ्चालनमा आएपछि देशका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति अझ सहज हुने अपेक्षा गरिएको छ।
अशोक घिमिरे/राससको सहयोगमा



