images
images

विपद्, पीडा र आशाबाट पुनर्जागरणतर्फ कालीकोट (भिडियोसहित)


  • 392
    SHARES
  • २०८२ पौष २० गते आइतबार

    विपद्, पीडा र आशाबाट पुनर्जागरणतर्फ कालीकोट (भिडियोसहित)

    कालीकोट । कर्णालीका दुर्गम बस्तीहरू, जहाँ हिजो विपद्, अभाव र असहायता दैनिकी थिए । आज विस्तारै आशा, सुरक्षित जीवन र विकासका संकेत देखिन थालेका छन् । तिलागुफा नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा विपद् पछिको पुनर्लाभ, खानेपानी, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा भएका कामले स्थानीयको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको छ ।

    ‘कालो दिन’ बाट पुनर्लाभको यात्रासम्म
    तिलागुफा नगरपालिकावासीका लागि विसं २०७९ असोज १८ देखि २३ सम्मका दिन अझै पनि पीडादायी सम्झना हुन् । अविरल वर्षा, पहिरो र बाढीले कर्णाली राजमार्ग क्षतविक्षत बन्यो, मानवीय क्षति भयो । दाहसंस्कारकै क्रममा तिला नदीमा बाढी आएर ११ जनाको ज्यान गयो ।

    नगरप्रमुख शंकरप्रसाद उपाध्यायका लागि त्यो समय ‘अग्निपरीक्षा’ थियो । ‘विपद्को सामना गर्नुको विकल्प थिएन,’ उनी भन्छन्, ‘त्यसबेला नेपाल रेडक्रस पहिलो सहयोगी बन्यो ।’ तत्काल ओत, खाना र राहत व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिकालाई नगरवासीले आज पनि कृतज्ञताका साथ सम्झिन्छन् ।

    दुर्गमतामा पनि विकासको पहुँच
    ११ वडा रहेको तिलागुफा नगरपालिकाका केही वडा अझै तिला नदीपारि छन्, जहाँ बाढीले पुल बगाएपछि यातायात स्थायी चुनौती बनेको छ । यस्ता जोखिमबीच पनि नेपाल रेडक्रस सोसाइटीले लक्जम्बर्ग रेडक्रसको सहयोगमा खानेपानी, सरसफाइ, स्वास्थ्य, सिँचाइ, जीविकोपार्जन र शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    गाल्जे, बदमवाडा, देवारतोली, देउरुख जस्ता बस्तीमा सम्पन्न खानेपानी आयोजनाबाट करिब एक हजार विपन्न परिवार लाभान्वित भएका छन् ।

    आपत्कालीन तयारीमा थप सशक्तता
    विपद् जोखिम न्यूनीकरणतर्फ अर्को महत्वपूर्ण कदमस्वरूप नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले तिलागुफा नगरपालिकालाई खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ ।

    वासिङ मेसिन, इलेक्ट्रिक हिटर, स्ट्रेचर, अग्नि सामक यन्त्र, पानी प्रशोधन उपकरणलगायत सामग्री राजुली नगर अस्पताल र नगरका विद्यालयमा प्रयोग हुँदैछन् । नगरप्रमुख उपाध्यायले यसलाई ‘विपद्पछिको आशा’ को संज्ञा दिएका छन् । 

    पानी बोक्ने कार्य अव इतिहास
    देवारतोली गाउँका महिलाका लागि पानी ल्याउनु जीवनकै सबैभन्दा ठूलो संघर्ष थियो । भीरबाट गाग्री बोकेर हिँड्दा कति लडाइँ, चोट—अब ती दिन पुराना भएका छन् ।

    ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ४५ घरमा धारा जडान भएपछि महिलाको समय बचत भएको छ, बालबालिका समयमै विद्यालय जान थालेका छन् र आँगनमै सागसब्जी फल्न थालेको छ ।

    ‘भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ,’ स्थानीय चन्द्रबहादुर विश्वकर्मा भावुक हुँदै भन्छन् । 

    विद्यालय र बालबालिकामा नयाँ उज्यालो
    तिलागुफा–१ चौरभिग्मस्थित श्री जनता आधारभूत विद्यालयका बालबालिकाले अब पक्की कक्षा कोठामा पढ्न पाउने भएका छन् । भूकम्प र वर्षाले क्षतिग्रस्त भवनमा पढ्न बाध्य बालबालिकाका लागि नयाँ भवन आशाको प्रतीक बनेको छ ।

    त्यसैगरी सत्यदेवी माध्यमिक विद्यालयमा खानेपानी, शौचालय र च्यानल गेट निर्माण भएपछि शौचालयकालागि ‘जंगल छिर्नुपर्ने अवस्था’ अन्त्य भएको छ ।

    मातृ स्वास्थ्य सेवामा उदाहरणीय सफलता
    सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्राले मातृ स्वास्थ्य सेवामा कालीकोटमै नयाँ उदाहरण स्थापित गरेको छ । यहाँ पाँच वर्षयता मातृ तथा नवजात शिशुको अकाल मृत्यु शून्य छ ।
    पाँचवटा बर्थिङ सेन्टर, सक्रिय स्वास्थ्यकर्मी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण घरमै सुत्केरी हुने अवस्था अन्त्य भएको छ ।

    ‘अब बच्चा जङ्गलमा जन्मिने समय रहेन,’ ७१ वर्षीय नाग्मल बुढा भन्छन् । ‘एक घर, एक धारा’ बाट पूर्ण सरसफाइतर्फ करिब १७ हजार जनसंख्या रहेको सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजारभन्दा बढी धारा जडान भइसकेका छन् । दुई सयभन्दा बढी पानीका मूल संरक्षण गर्दै पूर्ण सरसफाइयुक्त पालिका घोषणाको तयारी सुरु भएको छ ।

    आशाको निष्कर्ष
    कालीकोटका यी बस्तीहरू आज पनि चुनौतीमुक्त छैनन् । तर विपद्, अभाव र पीडाबीच पनि सही सहकार्य, स्थानीय नेतृत्व र मानवीय सेवाले कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् ।
    तिलागुफा र सान्नी त्रिवेणीका यी कथाहरू केवल विकासका परियोजना होइनन् यी आशा, आत्मसम्मान र सुरक्षित भविष्यतर्फका सशक्त पाइला हुन् ।


    पेशल आचार्य
    आचार्य नेपालअर्थ डटकमका अध्यक्ष हुन् ।


    images

    Logo