सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप एक जना घाइते भएका छन् । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सो सवारी दुर्घटना भएको हो ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


