काठमाडौं । नेपाल प्रेस युनियनले संगठनको जिल्ला शाखा अधिवेशन आगामी साउन २५ गतेदेखि भदौ २५ गतेसम्म सम्पन्न गर्ने तथा केन्द्रीय महाधिवेशन असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार बसेको युनियनको केन्द्रीय समितिको बैठकले संगठनको अधिवेशन कार्यतालिका तय गर्दै सबै तहका अधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
युनियनका अध्यक्ष शिव लम्सालका अनुसार जिल्ला शाखा अधिवेशनलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्न आवश्यक तयारी, सदस्यता व्यवस्थापन, संगठनात्मक समन्वय तथा निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला र प्रदेश समितिलाई निर्देशन दिइएको छ ।
बैठकले केन्द्रीय महाधिवेशनलाई भव्य, व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन, जिम्मेवारी बाँडफाँट तथा आवश्यक व्यवस्थापकीय तयारीलाई तीव्रता दिने निर्णय पनि गरेको अध्यक्ष लम्सालले जानकारी दिए ।
दुईदिने केन्द्रीय महाधिवेशनबाट नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन गरिनेछ । साथै, पत्रकारितासम्बन्धी समसामयिक विषय, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका हकहित, संगठन सुदृढीकरण तथा भावी कार्यदिशाबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।
नेपाल प्रेस युनियनले महाधिवेशनलाई सफल बनाउन देशभरका जिल्ला तथा प्रदेश समितिलाई आवश्यक समन्वय गर्दै सक्रिय रूपमा तयारीमा जुट्न आग्रह गरेको छ ।


