काठमाडौं । आइतबारदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ः४० बजेसम्मको अवस्था अनुसार उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको जानकारी दिएको छ । केही स्थानमा सडक ‘पूर्ण रूपमा अवरोध’ भएका छन् भने केही ठाउँमा ‘एकतर्फी सुचारु’ वा समय तोकेर मात्र सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
बागमती प्रदेशअन्तर्गत धादिङको पृथ्वी राजमार्गमा पहिरोका कारण आवागमनमा ठुलो समस्या सिर्जना भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ स्थित चालीसेमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
गजुरीकै परेवाभिर र बेनीघाट रोराङको ज्वाङखोलामा भने एकतर्फी रूपमा मात्र यातायात चलिरहेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोले काठमाडौं–धादिङ सडक एकतर्फी मात्र खुला छ ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै १० टन सम्मका मालवाहक सवारीसाधन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र चलाउन दिइएको छ । अन्य सवारीसाधनको हकमा परिस्थितिको विचार गरी बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीले पूर्ण रूपमा बन्द गराएको छ । उक्त सडकको अवरोध खुल्न ‘लामो समयसम्म रहने’ प्रहरीले जनाएको छ । रसुवाकै मुख्य राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा ठप्प छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमले गर्दा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावतीस्थित सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि पहिरोले आवागमन रोकेको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालखोरमा खसेको पहिरोले सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
कर्णाली प्रदेशमा भने चारवटा मुख्य सडक खण्ड ठप्प छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र खाँडाचक्र नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित रातो पहाडमा खसेको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ ।
यसैगरी सुर्खेतको बराहताल–७ औलिसेस्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोट–४ आरीडंगाले फेदीमा खसेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीको विवरणमा उल्लेख छ ।




