images
images

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो


  • 267
    SHARES
  • २०८३ आश्विन २९ गते बिहीबार

    विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति बढेर भदौ मसान्तसम्म ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो।

    राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार हालको विदेशी मुद्रा सञ्चिति झन्डै २१ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको छ।

    अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड डलर पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर रहेको थियो।

    यस अवधिमा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चालु खाता एक खर्ब ६९ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो।

    त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

    यद्यपि, यस अवधिमा उपभोक्ता मुद्रास्फीति भने बढेको छ। राष्ट्र बैंकका अनुसार गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। गत वर्षको भदौमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो।


    images
    images

    Logo