सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिएर आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट ल्याइएको हो ।
प्रस्तुत बजेटको आकार अघिल्लो सरकारले पेस गरेको बजेटबराबर नै छ ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट राजस्व बाँडफाँट भई १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट सात करोड, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रकम नौ अर्ब ६५ करोड रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ ।
यसैगरी, ससर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरेको थियो । तर, सत्ता गठबन्धन परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेन ।
त्यसपछि असार २९ गते नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
बजेट पारित हुन नसक्दा प्रदेशमा करिब तीन महिनादेखि बजेटसम्बन्धी अन्योल कायम थियो । नयाँ बजेट प्रस्तुत भएसँगै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।



