काठमाडौं । नेपाली सेनामा २२ वर्ष सेवा गरेका माधव थापाद्वारा लिखित निर्वाचन रणनीति र नेपालमा चीन–भारतको भू–राजनीतिक प्रतिस्पर्धासम्बन्धी दुई पुस्तक सार्वजनिक भएका छन् ।
आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा थापाका How to Win Election? An Election Strategy Making Process र Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal सार्वजनिक भएका हुन् ।
निर्वाचन रणनीति निर्माणका नौ चरण
How to Win Election? An Election Strategy Making Process पुस्तकले निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित उम्मेदवार तथा राजनीतिक दलले रणनीति निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे विस्तृत रूपरेखा प्रस्तुत गरेको छ ।
पुस्तकमा निर्वाचन रणनीति निर्माणका नौ चरण पहिचान गरिएको छ । अमेरिकी सेनामा प्रचलित सैन्य निर्णय प्रक्रियाबाट प्रेरित यस ढाँचामा लेखक थापाले नेपाली सेनामा २२ वर्ष सेवा गर्दा प्राप्त योजना निर्माण तथा निर्णय प्रक्रियासम्बन्धी अनुभव उपयोग गरेका छन् ।
पुस्तकमा रणनीति निर्माणका प्रमुख चरणलाई विभिन्न उपचरणमा विभाजन गर्दै व्यावहारिक निर्वाचन रणनीति तयार गर्ने प्रक्रिया प्रस्तुत गरिएको छ । साथै, निर्वाचन अभियानका विभिन्न चरण, निर्वाचनको अवस्थाको निरन्तर अनुगमन गर्न ‘अपरेसन रुम’ सञ्चालन गर्ने तरिका र बदलिँदो राजनीतिक परिस्थितिअनुसार योजना परिमार्जन गर्ने विषय पनि समेटिएको छ ।
नेपालमा चीन–भारतको भू–राजनीतिक प्रतिस्पर्धाको विश्लेषण
थापाको दोस्रो पुस्तक Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal ले नेपालमा चीन र भारतबीचको भू–राजनीतिक प्रतिस्पर्धाका प्रमुख पक्ष तथा तिनमा समयक्रमसँगै आउने परिवर्तनको विश्लेषण गरेको छ ।
पुस्तकमा सम्पर्क सञ्जाल, सुरक्षा, संस्कृति तथा ऊर्जा र जलस्रोतलाई चीन–भारत प्रतिस्पर्धाका चार प्रमुख भू–राजनीतिक तत्वका रूपमा प्रस्तुत गरिएको छ ।
यसले नेपालमा चीन र भारतका सुरक्षा तथा सम्पर्क सञ्जालसम्बन्धी चासो, जलस्रोतमा उनीहरूको रणनीतिक स्वार्थ तथा बुद्ध धर्म र बुद्धको जन्मस्थलसँग जोडिएको सांस्कृतिक भू–राजनीतिबारे चर्चा गरेको छ । साथै, नेपाललाई भारत र चीनबीच जोड्ने ‘भूमिसम्बद्ध राष्ट्र’ (Land-linked Nation) वा ‘जीवन्त पुल’ (Vibrant Bridge) का रूपमा हेर्ने अवधारणालाई समेत विश्लेषण गरेको छ ।
सैन्य सेवाबाट प्राज्ञिक क्षेत्रमा
नेपाली सेनामा २२ वर्ष सेवा गरेका थापाले त्यसपछि आफ्नो करिअर प्राज्ञिक क्षेत्रमा अघि बढाएका हुन् । उनले नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजबाट आर्मी कमान्ड एन्ड स्टाफ कोर्स पूरा गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाले सन् २०२३ को राजनीतिशास्त्रतर्फको एमफिल ब्याचमा प्रथम स्थान हासिल गरेका थिए । उनी हाल विद्यावारिधि (पीएचडी) का शोधार्थी हुनुका साथै रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्यापन गराउँदै आएका छन् ।
कार्यक्रममा अवकाशप्राप्त ब्रिगेडियर जनरल रामचन्द्र खत्री, त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागका प्रमुख डा. पिताम्बर भण्डारी र अवकाशप्राप्त मेजर जनरल डा. पूर्ण सिलवालले पुस्तकहरूमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा डा. रविन्द्र खनाल र परराष्ट्रमन्त्री भइसकेका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।



