काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी अन्तिम शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । जितसँगै नेपाल अंकतालिकामा क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ ।
ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो ।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए ।
नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेले । उनले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए ।
यस्तै गुलशन झाले ३४ बलमा आक्रामक ४८ रन जोडे । अर्जुन कुमालले २३ र बसिर अहमदले ३० रन बनाए । क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिर शिर्जादले दुई विकेट लिए ।
यस जितसँगै ३३ खेलबाट २६ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा पुगेको छ । ३४ खेल खेलेको क्यानडा २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।
शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ । अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु हुनेछ । त्यसका लागि बाँकी खेलको नतिजा नेपालका लागि महत्वपूर्ण हुनेछ ।
नेपालले अब असोज २७ गते ओमानसँग खेल्नेछ । त्यसपछि असोज ३१ गते क्यानडासँग र कात्तिक २ गते पुनः ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।



