images
images

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


  • 110
    SHARES
  • २०८३ कार्तिक १० गते मंगलबार

    साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

    काठमाडौं । साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

    रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा सुरक्षा निकाय र सम्बन्धित आधिकारिक निकायले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।

    दूतावासले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा अपुष्ट सूचना, तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्न पनि सचेत गराएको छ । हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा परिवर्तन भए/नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

    आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादस्थित नेपाली दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

    साउदी अरबमा झन्डै चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली त्यहाँ जाने गरेका छन् ।

    पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहबाट साउदी अरबका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण भइरहेको जनाइएको छ । यस परिस्थितिमा साउदीमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।


    images
    images

    Logo