काठमाडौं । सरकारले विदेशबाट आयात हुने वस्तुको जाँचपास सीधै चोभारस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा गर्ने व्यवस्था गरेको छ । देशका ठूला ५ वटा भन्सार नाकाबाट नेपाल भित्रने मालवस्तुलाई सम्बन्धित भन्सार कार्यालयमा चेकजाँच नगरी सीधै चोभार सुख्खा बन्दरगाहमा चेकजाँच गर्ने प्रबन्ध मिलाइएको हो ।
यो व्यवस्था आगामी आइतबारबाट कार्यान्वयनमा आउने जनाइएको छ । यसका लागि भन्सार विभागले चोभारमा भन्सार कार्यालयको स्थापना गरिसकेको छ भने सुख्खा बन्दरगाह सञ्चालन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले समेत सुख्खा बन्दरगाह व्यवस्थापनको लागि अन्तिम तयारी पूरा गरिसकेको छ ।
तर, यसरी काठमाडौंमा ल्याएर जाँचपास गर्ने एउटा शर्त छ । यसो गर्नको लागि नाकास्थित भन्सार कार्यालयको स्वीकृति चाहिन्छ । साथै, त्यसरी सामान ल्याउने सवारी साधन भन्सार विभागका महानिर्देशकले तोकेको बाटो हुँदै आउनुपर्छ ।
त्यति मात्रै होइन, त्यस्तो गाडीमा जीपीएस र इलेक्ट्रोनिक ताल्चा जडान समेत भएको हुनुपर्छ । त्यस्तो गाडीबाट जाँचपास नभएसम्म सामान निकल्न वा थप्न समेत पाइँदैन । बाटोमा कुनै कारणले गाडी बिग्रिए वा दुर्घटना परेमा यसको जानकारी भन्सार कार्यालयलाई दिनुपर्छ ।
तर, के यी सबै झन्झट व्यहोरेर व्यवसायीले सीधै काठमाडौं ल्याएर भन्सार जाँचपास गर्लान् त ? कि काठमाडौंबाट भन्सार जाँचपास गर्दा विशेष सुविधा पाइन्छ ?
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल व्यवसायीले सीमा नाकाको भन्सार वा चोभार भन्सार जुनसुकै कार्यालयबाट भन्सार जाँचपास गरे पनि बन्दरगाहको लागत वा अन्य भन्सार सुविधामा कुनै कमी नहुने व्यवस्था भएको बताउँछन् । यद्यपि चोभारको बन्दरगाह सञ्चालनले व्यवसायी उत्साहित बनेको उनको भनाइ छ ।
व्यवसायी यसरी उत्साहित हुनुको प्रमुख कारण भनेको आफ्नै आँखा अगाडि आफ्नो सामानको भन्सार जाँचपास भएको हेर्न पाउनु हो । कार्यकारी निर्देशक गजुरेल भन्छन्, ‘काठमाडौंमा बस्ने अधिकांश व्यवसायीले आफूले आयात गरेको सामानको जाँचपास कसरी हुन्छ भन्ने हेर्न सक्दैनन् । यहीँ जाचपास गर्दा आफ्नै आँखा अगाडि जाँचपास हुन्छ । जाँचपासको पारदर्शिता समेत आफैंले अनुभव गर्न सक्छन् ।’
अर्कोतर्फ यो व्यवस्था आयात हुने सामानमा मात्रै नभएर निर्यात हुने सामानमा समेत हुन्छ । नेपालबाट निर्यात गरिने कतिपय सामानमा बोर्डरमा समस्या भएका उदाहरण समेत छन् । तर, काठमाडौंबाट जाँचपास भएर गएको सामान भन्सारमा नरोकिने भएकोले यसले निर्यातलाई समेत सहजीकरण गर्ने गजुरेलको भनाइ छ ।
यो बन्दरगाह सञ्चालन भएपछि सीमा नाकामा कुर्नुपर्ने बाध्यता पनि हट्छ । काठमाडौं आएर जाँचपास गर्न सक्ने व्यवस्थाले सीमा नाकाका सम्बन्धित भन्सार अधिकारीको कामलाई कम गर्छ । यता कम चाप हुने चोभार नाकामा आएर भन्सार जाँचपास गर्दा छिटो र सहज समेत हुनसक्ने गजुरेल बताउँछन् ।
अहिले यो बन्दरगाह र भन्सार सञ्चालनमा व्यवसायीको उत्साहले यो भन्सार कार्यालयले राम्रो बिजिनेस पाउनसक्ने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस्...


