काठमाडौं । विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक, मार्च २१–२७) अन्तर्गत बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ३ स्थित कैलाश माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।
ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशब्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा जगन्नाथ शाखा कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका शाखा प्रबन्धक रेम प्रसाद कंडेलले जानकारी दिए । जिल्लाका ग्रामीण क्षेत्रहरुमा बित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको कंडेलले बताए ।
शनिबार सम्पन्न कार्यक्रम मुख्यरुपले बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अबिभाभकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु, शिक्षक शिक्षिकाहरु, स्थानीय व्यवसायीहरु, महिलाहरु, विद्यार्थीहरु लगायत करिब २ सय ५० जनाको सहभागिता रहेको थियो ।
जगन्नाथ गाउँपालिका वडा नं. ३ का अध्यक्ष डम्बर बहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, जगन्नाथ शाखाका प्रबन्धक रेम प्रसाद कंडेल, स्वामीकार्तिक शाखाका प्रबन्धक ध्रुब बहादुर शाही तथा वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा बैंकले कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका तथा शैक्षिक सामग्री बितरण गरेको थियो ।


