काठमाडौं । बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि काठमाडौं उपत्यकामा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारले नयाँ व्यवस्था गर्न निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकाभित्र जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
मन्त्रीको सचिवालयका अनुसार कुनै कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएमा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डर समान मूल्यमा साटेर ग्यास लिन सक्नेछन् । यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ ।
बाढीका कारण आपूर्ति प्रणालीमा अवरोध आएपछि कतिपय स्थानमा एलपी ग्यासको उपलब्धता प्रभावित भएको छ । यस्तो अवस्थामा उपभोक्ताले आफूले नियमित प्रयोग गर्ने ब्रान्डकै सिलिन्डर खोज्नुपर्ने बाध्यता हटाउन इन्टरचेञ्जको व्यवस्था गर्न लागिएको हो ।
सरकारले प्राकृतिक विपद्का कारण सिर्जित आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई आवश्यक ग्यास सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।



