काठमाडौं । देशका विभिन्न ५६ जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुधबार बिहान जारी गरेको तीन दिने बाढी पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनसम्म देशका मुख्य तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ । तर, आगामी दिनमा वर्षासँगै विभिन्न नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।
पूर्वानुमानअनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशी नदीमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य बढ्नेछ । त्यस्तै, नारायणी जलाधारका नारायणी, त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालिगण्डकी नदीमा पनि तीनै दिन जलसतह बढ्ने अनुमान गरिएको छ ।
कर्णाली जलाधार अन्तर्गत कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । महाकाली, कन्काई र पश्चिम राप्ती नदीमा समेत भदौ २४ देखि २६ गतेसम्म जलसतह बढ्ने सम्भावना छ ।
कमला नदीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने तथा पर्सि सामान्य वृद्धि हुने पूर्वानुमान गरिएको छ । बागमती र पूर्वी राप्ती नदीमा आज सामान्य वृद्धि भए पनि भोलि र पर्सि जलसतह उल्लेख्य बढ्न सक्ने जनाइएको छ। बबई नदीमा भने तीनै दिन बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी र डडेलधुरालगायत आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनार तथा आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले भोलि र पर्सि सातै प्रदेशमा बहने केही साना नदी तथा खोलामा पनि बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको जनाएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनार, खोल्सा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।




