काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका ९ वटा नेपाली रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ मौज्दात रहेको छ । यस्तै, कोषका २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर रहेको छ ।
अमेरिकी डलरलाई प्रतिडलर १५० रुपैयाँ ८८ पैसाका दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मात्रै राहत कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सहयोग संकलन भएको छ । यो रकम विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको हो ।
अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते मात्रै राहत कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।
विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा स्वदेश तथा विदेशबाट रकम संकलन हुँदै आएको छ ।



