काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । नेपालमाथि जित निकाल्दै हङकङ पनि सेमिफाइनलमा पुगेको छ भने आयोजक मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले उत्कृष्ट ९० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
आसिफ शेखले ४४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए । करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।
हङकङका एइजाज खानले ४ विकेट लिएर नेपालको ब्याटिङ ध्वस्त पारे । यासिम मुर्तजाले २ विकेट लिए भने किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । एक समय १३३ रनमा ७ विकेट गुमाएर संकटमा परेको हङकङलाई बाबर हायात र एहसान खानले उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।
बाबर र एहसानले आठौं विकेटका लागि अविजित १२८ रनको साझेदारी गरे । बाबरले १२७ बलमा ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन बनाए । एहसान ३४ रनमा अविजित रहे। यसअघि शाहिद वासिफले ४५ रन बनाएका थिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । शेर मल्लले पनि प्रभावशाली प्रदर्शन गर्दै १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा नेपालमाथि जितसँगै हङकङले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । हङकङको जितसँगै आयोजक मलेसियाको भने प्रतियोगिताको यात्रा समूह चरणमै समाप्त भएको छ ।



