images
images

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन


  • 134
    SHARES
  • २०८३ भाद्र २३ गते मंगलबार

    रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृतकको सङ्ख्या १ हजार ३५७ पुगेको छ भने ५ हजार ३२६ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीपछिको खोजी, उद्धार तथा राहतको अवस्थाबारे जानकारी दिएको हो ।

    प्राधिकरणका अनुसार विभिन्न स्थानबाट फेला परेका शव तथा मानव अङ्गहरूमध्ये चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा फेला परेका छन् । फेला परेकामध्ये हालसम्म १०२ जनाको मात्रै सनाखत गरी शव आफन्तलाई बुझाइएको छ ।

    बाढीपछि हालसम्म ५ हजार ३२६ जना मानिस सम्पर्कविहीन छन्। रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बेपत्तामध्ये रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी रहेका छन् ।

    त्यस्तै, नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक तथा ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ । जसमध्ये नेपाली सेनाको व्यवस्थापनमा ३ हजार ४०४, सशस्त्र प्रहरीको व्यवस्थापनमा ३ हजार ९६ तथा विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार भइरहेको जनाइएको छ। अस्पतालमा उपचाररत घाइतेमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन् ।

    उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

    वायुसेवामार्फत उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौंबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान भरेका छन् ।

    विस्थापित नागरिकलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्ने क्रममा रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ ।

    सरकारले राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई जनही १ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

    यसैबीच प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन तथा ४५७ वटा ग्यास सिलिन्डर पठाइएको छ ।

    प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ ।

    विद्युत् आपूर्ति पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। हाल धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ । खोजी, उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको काम प्रभावित क्षेत्रमा निरन्तर जारी रहेको छ ।

    800644021_1387333250226754_2951325253480288100_n


    images
    images

    Logo