काठमाडौँ, २३ भदौः मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा लगातार तीन जित निकाल्दै उच्च मनोबलमा रहेको नेपाल आज हङकङलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ।
नेपाल र हङकङबीचको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु भइसकेको छ ।
प्रतियोगितामा उत्कृष्ट लयमा रहेको नेपाल तीन खेलबाट छ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले, आयोजक मलेसियालाई छ विकेटले तथा साउदी अरेबियालाई पाँच विकेटले पराजित गरेको थियो।
लगातार तीन खेलमा सहज जित निकाल्दै आएको नेपाली टोली आजको खेलमा पनि आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा छ। हङकङविरुद्धको खेल जित्न सके नेपालले समूह विजेताका रूपमा प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउनेछ।
यता हङकङले तीन खेलबाट दुई जित र एक हारसहित चार अङ्क जोडेको छ। त्यसैले हङकङका लागि पनि आजको खेल महत्वपूर्ण छ। नेपाललाई रोक्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने उसको प्रयास हुनेछ।
एकदिवसीय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक भेट भएको छ। तीमध्ये नेपालले एक खेल जित्दा हङकङले दुई खेलमा बाजी मारेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको थियो। आठ वर्षपछि पुनः आमनेसामने हुन लागेका नेपाल र हङकङबीचको आजको भिडन्तमा नेपाली टोली त्यही जितको इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ।
समूह चरणमा अपराजित रहेको नेपालका लागि आजको खेल जितसँगै आफ्नो लय कायम राख्ने र समूह विजेताको रूपमा अघि बढ्ने महत्वपूर्ण अवसर बनेको छ।



