काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरूको कार्यतालिका फेरि परिमार्जन गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले संशोधित कार्यतालिका सार्वजनिक गर्दै गाउँ तथा नगर वडा अधिवेशन आगामी असोज ३ र ४ गते गर्ने निर्णय गरेको हो । स्थानीय अनुकूलताअनुसार दुई दिनमध्ये कुनै एक दिन वडा अधिवेशन सम्पन्न गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।
यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु गर्ने कार्यतालिका तय गरिएको थियो । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट भएको धनजनको क्षतिका कारण अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।
संशोधित कार्यतालिकाअनुसार गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते हुनेछ। त्यस्तै प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्णय गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन । यसअघिको निर्णयअनुसार केन्द्रीय महाधिवेशन आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुनेछ ।
बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने तोकिएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमध्ये अधिवेशन हुन बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको छ ।
निर्वाचन समितिले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गर्ने जनाएको छ ।




