काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा काम गर्न १ हजार ४६४ जना नेपालीका लागि आवेदन खुला गरिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार गम्भीर अपांगता भएका जुनसुकै उमेर समूहका व्यक्तिको स्याहारका लागि नेपाली सहायक कामदार माग गरिएको हो । माग गरिएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन् ।
आवेदन दिन इच्छुक उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
इच्छुक नेपाली नागरिकले आज राति १२ बजेदेखि आगामी असोज २६ गते मध्यरातिसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत पेश गर्न सकिनेछ ।
कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बसोबासको व्यवस्था भने सम्बन्धित कम्पनीले गर्ने जनाइएको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको दैनिक स्याहार तथा सहयोगसम्बन्धी कामका लागि नेपाली कामदार पठाउन आवेदन खुला गरिएको हो ।



