काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । दुवै सदनका बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची छ । एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धमा तयार गरिएको प्रस्तावसमेत बैठकमा पेस हुने बताइएको छ ।
यता राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सुरु हुनेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई जानकारी गराउनेछन् ।
यसैबीच, आजै सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका बैठकसमेत बस्ने भएका छन् । समितिहरूको बैठकमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।



